बुधबार, ११ कात्तिक २०८३
बुधबार, ११ कात्तिक २०८३ · खेलकुद
काठमाडौं, कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आमनेसामने हुँदैछन्।
साँझ ५:०० बजेबाट सुरु हुने यो खेलमा दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन्। उद्घाटन खेलमा हार बेहोरेको सुदूरपश्चिम पुनरागमनको दाउमा छ भने पोखरा विजयी सुरुवात गर्न चाहन्छ।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। एनपिएलका अघिल्ला दुवै संस्करणमा उपविजेता बनेको यो टोली यसपटक पहिलो उपाधि उचाल्ने दाउमा छ।
कुशल भुर्तेलको कप्तानीमा पोखरा एभेन्जर्सले आज पहिलो खेल खेल्दैछ। अघिल्ला दुवै संस्करणमा प्लेअफमा पुग्न नसकेको पोखरा यसपटक सुदूरपश्चिमलाई पराजित गर्दै बलियो सुरुआत गर्न चाहन्छ।
दुवै टोलीबीच यसअघि भएका दुवै भेटमा सुदूरपश्चिम विजयी भएको छ। टोलीले सन् २०२४ मा ५ रनले र २०२५ मा १८ रनले पोखरालाई पराजित गरेको थियो।
उता, प्रतियोगितामा यसअघि चितवन राइनोज र कर्णाली यसले विजयी सुरुआत गरिसकेका छन्। मंगलबार भएको खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए। हाल अंक तालिकाको शीर्ष स्थानमा लुम्बिनी लायन्स रहेको छ भने कर्णाली र चितवन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।