logo-image

सोमबार, ०९ कात्तिक २०८३

नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

सोमबार, ०९ कात्तिक २०८३ · खेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

काठमाडौं, कात्तिक ९ ।  तेस्रो संस्करणसम्म आइपुग्दा नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै उत्कृष्ट फ्रेन्चाइज क्रिकेट लिगमध्ये एक बनिसकेको छ । 
एनपिएलको पहिलो र दोस्रो संस्करणले पाएको सफलताले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी बढ्नुका साथै आर्थिक गतिविधिको विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याएको छ । नेपाल प्रिमियर लिगले नै नेपाली क्रिकेटको जग बलियो बनाउन महत्वपूर्ण सहयोग गरेका खेल समर्थकहरुको अनुभव छ । लिगमा चर्चित विदेशी खेलाडीहरुको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउनुका साथै खेलको निष्पक्षतामाथि समेत महत्वपूर्ण सहयोग गरिरहेको उनीहरुको भनाइ छ । क्रिकेट समर्थक जगदीश जैशीले एनपिएलले नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्नुका साथै मुलुकको समग्र खेल क्षेत्रको विकासमा समेत सहयोग गरिरहेको बताउनु भयो । उहाँले एनपिएलले नयाँ पुस्तालाई क्रिकेट खेललाई पेसाकै रुपमा अगाडि बढाउन प्रोत्साहन गरेको पनि बताउनु भयो । उहाँले एनपिएल र नेपाली क्रिकेट क्षेत्रको विकासमा विभिन्न व्यक्तिको मेहनत र योगदान रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको क्रिकेट क्षेत्रले छोटो समयमा नै ठूलो फाड्को मार्न सफल भएको छ । अहिले नेपाल प्रिमियर लिगको तेस्रो सिजनसम्म आइपुग्दा नयाँ नयाँ प्रविधिहरु पनि भित्रिएका छन् । विदेशी स्टार प्लेयर पनि आउनुभएको छ । यो सानो प्रयासले मात्र सफल भएको होइन । यसको पछाडि धेरै व्यक्तित्वहरुले दुःख र मेहेनत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्नुका साथै मुलुकको आर्थिक क्षेत्रमा खेल क्षेत्रको योगदान समेत वृद्धि गरिरहेको छ ।’
क्रिकेट समर्थक रियान तामाङले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपाली क्रिकेटतर्फ आकर्षित गर्नु नै एनपिएलको सफलता भएको बताउनु भयो । उहाँले विदेशी खेलाडीले नेपालमा खेलेको अनुभव सकारात्मक रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रश्तुत गरे नेपाली क्रिकेटको विकास र अवसर विस्तारमा सहयोग अझै सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले एनपिएललाई क्रिकेट प्रतियोगिताको रुपमा मात्र नभई नेपालको पर्यटन क्षेत्रलाई समेत समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘एनपिएलले अन्तर्राष्ट्रिय समूदायको समेत ध्यान आकर्षित गरेको छ । अहिले नयाँ नयाँ प्रविधि र चर्चित विदेशी खेलाडीहरुको आगमनले पनि नेपाली क्रिकेटले चर्चा पाएको छ । विदेशी खेलाडीले सकारात्मक सन्देश लिएर जानुभयो भने अगामी दिनमा नेपाली क्रिकेटमा विकास र अवसरमा समेत वृद्धि हुनेछ ।’
अर्का क्रिकेट समर्थक नारायण आचार्यले एनपिएलपछि खेल पूर्वाधारमा भइरहेको विकास, निजी क्षेत्रको लगानी र ग्रासरुटबाट आएका प्रतिभाले पाएका अवसरलाई नेपाली क्रिकेटको विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । विदेशी स्टार खेलाडीको सहभागिताले नेपाली खेलाडीको खेल कौशल र प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुगिरहेको उहाँको भनाइ छ । उहाँले क्रिकेटमा निजी क्षेत्रको सहभागिता बढ्दा खेल गतिविधिसँगै मुलुकको आर्थिक तथा पयर्टन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली क्रिकेटको विकासको जग हाल्ने काम नै एनपिएलले गरेको छ ।  एनपिएल शुरु भइसकेपछि खेल पूर्वाधारमा भइरहेको विकास र लगानी तथा ग्रासरुटबाट आएका प्रतिभाहरुले पाएको अवसरले पनि क्रिकेट क्षेत्रको विकास झल्किन्छ । विदेशका स्टार खेलाडी आएर हाम्रो लिगमा खेल्ने कुराले नै हाम्रो खेलको स्तर बढेको हो भन्ने बुझ्नुपर्छ । यसले हाम्रो खेलाडीको खैल कौसलमा समेत गुणस्तर बढेको छ । पछिल्लो समय क्रिकेट क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढेको कारण देशको आर्थिक क्षेत्र नै चलायमान हुन पाएको छ जस्तो मलाई लाग्छ ।’
एनपिएलको  तेस्रो संस्करणको उद्घाटन खेलमा सोमवार डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।