मङ्गलबार, १० कात्तिक २०८३
मङ्गलबार, १० कात्तिक २०८३ · मनोरञ्जन
काठमाडौं, कात्तिक १० । गत वर्ष रिलिज भएको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेलका रूपमा निर्माण हुन लागेको चलचित्र ‘कलेजी – ऊनको स्वीटर’ को छायाङ्कन सुरु भएको छ । निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायाङ्कन शुभारम्भ गरेका हुन् ।
निर्देशक चौहानले चलचित्रको छायाङ्कन सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभ मुहूर्त सम्पन्न गरी छायाङ्कन सुरु गरिएको हो । सोमबार छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको उनले बताएका छन् । छायाङ्कनको शुभारम्भ अवसरमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको थियो । निर्देशक चौहानले उक्त अवसरमा प्राप्त साथ र आशीर्वादप्रति आभार व्यक्त गरेका छन् ।
‘ऊनको स्वीटर’ ले दर्शकको मनमा छोडेका कथा, पात्र र अनुभूतिलाई अझ फराकिलो संसारमा जोड्ने प्रयासका रूपमा ’कलेजी–ऊनको स्वीटर’ निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन् । उनका अनुसार काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै नयाँ चलचित्रले प्रेम, जीवन र मानवीय संवेदनाका थप आयामलाई प्रस्तुत गर्नेछ । “केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन् ।
नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन गर्ने योजनासहित अघि बढेको चलचित्रले ‘ऊनको स्वीटर’सँग जोडिएका कथा र पात्रलाई नयाँ परिवेशमा विस्तार गर्ने अपेक्षा गरिएको छ । आर्टमाण्डुको निर्माणमा बन्ने चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन् । अभिषेक सुवेदी सह लेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन् भने छायाङ्कनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन्। चलचित्रमा कोविद बज्रको सङ्गीत रहनेछ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ ।
‘ऊनको स्वीटर’ले स्थापित गरेको भावनात्मक संसारलाई निरन्तरता दिँदै नयाँ कथा र अनुभूतिसहित दर्शकमाझ आउने तयारीमा रहेको ‘कलेजी – ऊनको स्वीटर’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।
हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’
२ घण्टा अगाडि
सरकार परिणामभन्दा ‘फण्डा’को पछि लाग्योः आर्यन राई
२ घण्टा अगाडि