मङ्गलबार, १० कात्तिक २०८३
मङ्गलबार, १० कात्तिक २०८३ · खेलकुद
काठमाडौं, कात्तिक १० । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन्। प
हिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिने विराटनगर जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ। पहिलो संस्करणमा निराशाजनक प्रदर्शन गरे पनि दोस्रो संस्करणमा दोस्रो क्वालिफायरसम्म पुगेको विराटनगर यसपटक उपाधिलाई नै लक्ष्य बनाएर मैदान उत्रिँदैछ।
अर्कोतर्फ, कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोज पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। यसपटक चितवनको प्रशिक्षकको भूमिकामा पाकिस्तानी पूर्वखेलाडी सोहेल तनविर रहेका छन्, जसले अघिल्ला दुई संस्करणमा खेलाडीका रूपमा सहभागिता जनाएका थिए। विराटनगर र चितवनबीचका विगतका दुई भेटमा दुवै टोलीले समान एक-एक जित निकालेका छन्। पहिलो संस्करणमा विराटनगर ५१ रनले विजयी भएको थियो भने दोस्रो संस्करणमा चितवनले ४८ रनको जित निकाल्दै बदला लिएको थियो।
यसैगरी, दिनको दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो संस्करणको च्याम्पियन जनकपुर यसपटक पनि सोही लय कायमै राख्दै उपाधि यात्रालाई बलियो बनाउने दाउमा छ। यता सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स पनि जनकपुरलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्ने तयारीसहित मैदानमा उत्रिनेछ।