logo-image

सोमबार, १५ भदौ २०८३

प्रेमिका पाउन ८० मिटर अग्लो टावरमा चढे एक युवक

आइतबार, ०३ साउन २०८३ · समसामयिक

प्रेमिका पाउन ८० मिटर अग्लो टावरमा चढे एक युवक

मलंगवा, साउन ३ । सर्लाहीको मलंगवामा आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिन र उनीसँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन्। आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा ती युवक चढेपछि उनको सुरक्षित उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

टावरमा चढ्ने युवक सर्लाहीकै गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन रहेका छन्। टावरमा चढेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी दिएका थिए। साथीले तत्कालै यसबारे सुरक्षा निकायलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार प्रेम सम्बन्धका कारण मानसिक तनावमा रहेका हुसेनले आफ्नी प्रेमिकालाई तत्काल आफू भएकै स्थानमा बोलाउनुपर्ने र उनीसँग विवाह गराइदिनुपर्ने अडान राखेका छन्।

घटनाको जानकारी पाउनासाथ युवकको सुरक्षित उद्धारका लागि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूले टावरमा रहेका हुसेनलाई सम्झाइ–बुझाइ गरेर सुरक्षित रूपमा भुइँमा ओरालेर उद्धार गरेका छन्।

उद्धार कार्य सम्पन्न भइसकेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।