logo-image

सोमबार, १५ भदौ २०८३

सद्गुरुको ईशा नेपालले प्रधानमन्त्री राहत कोषलाई १ करोड सहयोग गर्ने

सोमबार, १५ भदौ २०८३ · समसामयिक

सद्गुरुको ईशा नेपालले प्रधानमन्त्री राहत कोषलाई १ करोड सहयोग गर्ने



काठमाडौं, भदौ १५ । नेपाल–तिब्बत सीमामा आएको भीषण बाढीले निम्त्याएको विध्वंसले जीवन गुमाउनुभएका र पीडामा रहनुभएका परिवारहरूको साथमा उभिएर समभाव व्यक्त गर्न अनि यस दुःखद घडीमा नेपालको निम्ति ऐक्यबद्धता जनाउन, सद्गुरुको उपस्थितिमा पुल्चोकस्थित द प्लाजामा एउटा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अभिनेत्री मनिषा कोइराला, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोल, ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायत अरू अतिथिहरू उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा लगभग तीन हजार भन्दा बढी सहभागीहरूको उपस्थिति थियो । 
कार्यक्रममा मनिषा कोइरालाले नेपालले बारम्बार अनेक विपद्हरू सामना गर्नुपरेकोमा अत्यन्तै दुःख व्यक्त गरेकी थिईन । जलवायु परिवर्तन जस्तो चुनौतीपूर्ण समस्यालाई सम्बोधन गर्न नेपाल, भारत र चीनले एकजुट भएर लाग्नुपर्ने बताईन । सद्गुरुले यो स्तरको विपत्तिको लागि नेपाल सरकारलाई मात्र दोष थोपर्न नहुने बरू विश्व समुदायहरूले यसमा मिलेर काम गर्नुपर्ने बताए । बढ्दो जलवायु परिवर्तनले निम्त्याउने विपत्तिहरूलाई सम्बोधन गर्नका लागि नेपाल र छिमेकी राष्ट्रहरू एक ढिक्का भएर हिमाली क्षेत्रहरूलाई व्यवस्थापन गर्नेतर्फ अग्रसर रहनु अहिलेको अपरिहार्य भएको बताए । उनले तुरुन्तै अव्यवस्थित रूपमा पुनर्निर्माण गर्नुको सट्टा विज्ञहरूको टोली बनाएर सही तरिकाले पुनस्र्थापना गर्नेतर्फ विमर्श गर्नुपर्ने सुझाव दिनुभयो, ताकि भविष्यमा क्षति न्युनिकरण गर्न सकियोस् । 
सद्गुरुले नेपालस्थित आफ्नो संस्था ईशा नेपालले प्रधानमन्त्री राहत कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै अन्य रूपमा समेत सहायता गर्न तत्पर रहेको बताए ।