आइतबार, १४ भदौ २०८३
आइतबार, १४ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १४ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि लायन्स परिवारले नेपाल सरकारसँग हातेमालो गर्दै रु. १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग हस्तान्तरण गरेको छ।
माननीय अर्थमन्त्रीको उपस्थितिमा लायन्सका प्रतिनिधिहरूले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। बाढी र पहिरोका कारण पीडामा परेका नागरिकहरूलाई तत्काल राहत र सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरिएको लायन्सले जनाएको छ।
यसैबिच, अन्तर्राष्ट्रिय सामाजिक संस्था 'लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन' ले पनि भोटेकोशी बाढीप्रभावितहरूका लागि २ लाख अमेरिकी डलर (करिब रु. २ करोड ६० लाखभन्दा बढी) को 'मेजर क्याटास्ट्रोफी ग्रान्ट' दिने घोषणा गरिसकेको छ। उक्त रकम स्थानीय लायन्स क्लबहरूमार्फत बाढीपीडितको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिनेछ।
सहयोग हस्तान्तरण कार्यक्रममा लायन्सका अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टरहरू लायन बालकृष्ण बुर्लाकोटी र लायन सञ्जय खतान, जीएटी एरिया लिडर लायन शम्भु घिमिरे, एलसीआईएफ एरिया लिडर लायन अरुण प्रताप राणा, मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशर भण्डारी, डिस्ट्रिक्ट गभर्नरहरू लायन सन्दीप कसौधन, लायन श्यामकुमार यादव, लायन उद्धव सिलवाल, लायन योगराज खडेल शर्मा, लायन सूर्य के.सी., लायन रमेश अधिकारी लगायत लायन्सका वरिष्ठ नेतृत्वहरूको उपस्थिति रहेको थियो।
"विपद् आउँदा सहयोग पर्खिन सक्दैन" भन्ने नाराका साथ लायन्स र LCIF ले प्रभावित क्षेत्रमा निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।