काठमाडौं, भदौ १५ । चलचित्र पार्वती’ को निर्माण टिमले बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि ११ लाख ३ हजार २ सय ७० रुपैयाँ प्रदान गरेको छ।
विपद्को यस घडीमा चलचित्रको पहिलो दिनको Gross Collection बाट निर्माण टिमले पाउने उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गरिएको जनाइएको छ।
निर्माण टिमले आगामी दिनमा चलचित्र ‘पार्वती’को Worldwide Collection को ५ प्रतिशत रकमसमेत बाढीपीडितका लागि छुट्याउने निर्णय गरेको जनाएको छ।
‘पार्वती’ भावना र मानवीय संवेदना बोकेको चलचित्र भएकाले विपद्का कारण दुःखमा परेका नेपालीलाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय भएको निर्माण टिमले जनाएको छ।
निर्माण टिमले दर्शकलाई चलचित्र हेर्नुका साथै बाढीपीडितको सहयोगमा समेत सहभागी हुन आग्रह गरेको छ।