सोमबार, १५ भदौ २०८३
सोमबार, १५ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १५ । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा भएको हो । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो ।
वि.सं. २०७४ सालमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन र बजारीकरणसम्बन्धी आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरेको जनाएको छ । कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका विभिन्न औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री–वितरण हुँदै आएका छन् । कम्पनीले आगामी माघदेखि मिर्गौला रोगीका लागि आवश्यक पर्ने केही औषधिको उत्पादनसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ ।
करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको दाबी गरेको छ । कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट व्यवसाय सञ्चालन हुँदै आएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरक रहेको जनाएको छ ।