logo-image

सोमबार, १५ भदौ २०८३

माथिल्लो त्रिशूली थ्री ‘बी’मा उद्धार प्रयास जारी, थप सैनिक परिचालन

सोमबार, १५ भदौ २०८३ · समसामयिक

माथिल्लो त्रिशूली थ्री ‘बी’मा उद्धार प्रयास जारी, थप सैनिक परिचालन

काठमाडौं, भदौ १५ । माथिल्लो त्रिशूली थ्री 'बी' को सुरुङमा फसेकाहरूको खोजी तीव्र, नेपाली सेना र प्राधिकरणको टोली उद्धारमा खटियो

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री 'बी' जलविद्युत आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशङ्कामा उद्धार कार्यलाई तीव्र पारिएको छ। आयोजनाको सुरुङ क्षेत्रमा आज पनि नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।

उद्धार कार्यका लागि आज बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणबाट थप १६ जनाको टोली परिचालन गरी सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ। यसअघि भदौ १४ गतेदेखि नै भैरवनाथ गणका १५ जना सैनिक र विद्युत् प्राधिकरणको संयुक्त टोलीले सो क्षेत्रमा खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो।

यसैबिच, नेपाल सरकारको अनुमतिमा गत भदौ १३ गते चीनबाट आएको एक उद्धार टोली निजी हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूली पुगेको थियो। चिनियाँ टोलीले नेपाली सेनासँग आवश्यक समन्वय गरी माथिल्लो त्रिशूली थ्री 'बी' र रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा हवाई रेकी (स्थलगत अवलोकन) गरेको थियो।

दुवै आयोजनाको वस्तुस्थितिबारे नेपाली सेनालाई जानकारी गराएपछि चिनियाँ उद्धार टोली भने भदौ १४ गतेदेखि रसुवाको माथिल्लो त्रिशूली-१ आयोजना क्षेत्रको उद्धारमा केन्द्रित भएको छ। यता माथिल्लो त्रिशूली थ्री 'बी' मा भने नेपाली सेनाको टोलीले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखेको छ।