काठमाडौं, जेठ २७ । तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आगामी असारको पहिलो दोस्रो साता काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा आगामी असार ७ र ८ गते तेस्रो राष्ट्रिय मुवाँथाई च्याम्पियनसिप काठमाडौंमा हुने भएको हो ।
उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । संघले बुधवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । यस प्रतियोगितामा एमेच्योर र सेमि प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ १४ र महिलामा ८ तौलसमूहमा प्रतिष्पर्धा हुने नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए । सबै तौलसमूहमा एमेच्योर र सेमी प्रोफेसनल विधामा प्रतिष्पर्धा हुनेछन् । कम्तीमा पाँच वटा फाइट खेलिसकेका खेलाडीले मात्र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगितामा कुल तीन सय ९६ खेलाडीको सहभागिता रहने आयोजकको अपेक्षा छ । १८ वर्षमाथिका खेलाडीले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ । पुरुषतर्फ ४८ केजीसमूहमा, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी, ७० केजी, ७२ केजी, ७६ केजी, ८२ केजी, ८६ केजी, ९१ केजी र ९१ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने भएका छन् । महिलामा भने ४८ केजी तौलसमूह, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी र ६६ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने संघले उल्लेख गरेको छ । हरेक तौलसमूहका विजेता खेलाडीले पदक पाउनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब १४ लाख ९५ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।
उपत्यकाबाहिरबाट आउने खेलाडीका लागि आवासको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । साथै सहभागी सम्पूर्ण खेलाडीको बीमा गरिएको संघले उल्लेख गरेको छ । संघले चालु वर्षभित्र तीन वटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना बनाएको जनाएको छ । त्यसअन्तर्गत यु–२० राष्ट्रिय च्याम्पियनसिप पनि आयोजना गरिने तयारी रहेको छ । अध्यक्ष कक्षपतिले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीले उल्लेखनीय प्रदर्शन गर्दै मुवाँथाई खेलको लोकप्रियता बढ्दै गएको बताए । तर खेलको विकासका लागि सरकारी निकायबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ । उनले मुवाँथाईलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन नियमित राष्ट्रिय प्रतियोगिता, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइने बताए ।