logo-image

मङ्गलबार, ०१ मंसिर २०८३

एनपीएलको पहिलो फाइनलिस्ट आज तय हुँदै, लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

मङ्गलबार, ०१ मंसिर २०८३ · खेलकुद

एनपीएलको पहिलो फाइनलिस्ट आज तय हुँदै, लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

 

काठमाडौं, मंसिर १ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो फाइनलिस्टको टुंगो आज लाग्ने भएको छ। पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। आजको खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान पक्का गर्नेछ भने पराजित हुने टोलीले उपाधि जित्ने सम्भावना कायम राख्दै अर्को अवसर पाउनेछ। दुवै टोली पहिलो प्रयासमै फाइनल पुग्ने योजनामा छन्। सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुग्ने लक्ष्यमा रहँदा लुम्बिनी भने दोस्रोपटक उपाधि भिडन्तमा स्थान बनाउने तयारीमा छ।

यसअघि भएको दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि उचालेको थियो। जारी प्रतियोगिताको लिग चरणमा भएको पहिलो भेटमा पनि लुम्बिनीले नै बाजी मारेको थियो। त्यसैले आजको खेलमा पनि जित निकाल्दै आफ्नो दबदबा कायम राख्ने लुम्बिनीको लक्ष्य हुनेछ। यता सुदूरपश्चिम भने पुराना हारको बदला लिँदै फाइनल यात्रा तय गर्न चाहन्छ।

लिग चरणमा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलबाट ५ जित, १ हार र १ बराबरीसहित ११ अंक जोडेको थियो। यससँगै टोली अंकतालिकाको शीर्ष स्थानमा रहन सफल भयो। त्यस्तै, सुदूरपश्चिमले ७ खेलमध्ये ५ मा जित र २ मा हार बेहोर्दै १० अंकका साथ दोस्रो स्थान हासिल गरेको थियो।

पहिलो क्वालिफायरमा हार्ने टोलीको फाइनल पुग्ने सम्भावना भने समाप्त हुने छैन। उसले बुधबार हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। एलिमिनेटरमा तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो स्थानको चितवन राइनोज आमनेसामने हुनेछन्। उक्त खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ।

दोस्रो क्वालिफायरको विजेता टोलीले फाइनलमा प्रवेश गर्नेछ। यसरी आजको पहिलो क्वालिफायरले एनपीएलको तेस्रो संस्करणमा फाइनल पुग्ने पहिलो टोलीको टुंगो लगाउनेछ।