logo-image

आइतबार, १३ मंसिर २०८३

बाढी प्रभावित पशुचौपायाको उपचार र व्यवस्थापनमा जुट्यो एफएओ, विदुरमा निःशुल्क पशु स्वास्थ्य शिविर

आइतबार, १३ मंसिर २०८३ · समसामयिक

बाढी प्रभावित पशुचौपायाको उपचार र व्यवस्थापनमा जुट्यो एफएओ, विदुरमा निःशुल्क पशु स्वास्थ्य शिविर



काठमाडौं, मंसिर १३ । बाढीबाट प्रभावित पशुचौपायाको स्वास्थ्य उपचार तथा पशुपालन क्षेत्रको पुनःस्थापनालाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिकामा शुक्रबारदेखि निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ‘स्वस्थ पशु, खुसी किसान’ तथा ‘स्वस्थ पशुधन, सुरक्षित जीविकोपार्जन’ भन्ने नारासहित खाद्य तथा कृषि संगठन (एफएओ) नेपालको प्राविधिक सहयोग र विदुर नगरपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । 

विदुर नगरपालिकामा क्षेत्रमा सञ्चालन भइरहेको शिविरमा बाढी प्रभावित किसानले पालेका पशुचौपायाको स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि वितरण भइरहेको छ । बाढीपछि घाइते भएका तथा विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित पशुचौपायालाई लक्षित गरी शिविर आयोजना गरिएको हो । बाढी प्रभावित क्षेत्रमा पशु स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले एफएओ नेपाल र नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

विदुर नगरपालिका पशु सेवा शाखा प्रमुख डा. सुजता अधिकारीका अनुसार बाढीपछि नगरपालिकामा करिब ४० वटा उद्धार गरिएका पशुचौपायाको उपचारका लागि किसानले सम्पर्क गरेका थिए । नगरपालिकाले विभिन्न प्राविधिक परिचालन गरी उद्धार गरिएका पशुहरूको उपचार गरेको उनले जानकारी दिइन् । केही पशुको उपचार आफैँले गरेको र अन्यको उपचारका लागि प्राविधिक टोली परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार बाढीबाट प्रभावित किसानलाई यसअघि पनि विभिन्न संघसंस्थाको सहकार्यमा पशु आहार वितरण गरिएको थियो । प्रभावित क्षेत्रका किसानलाई लक्षित गरी करिब २०० बोरा दाना वितरण गरिएको र औषधि अभाव हुन नदिन निःशुल्क औषधिसमेत उपलब्ध गराइएको उनले बताइन् । 

पशु स्वास्थ्यसँगै मृत पशुको व्यवस्थापनमा पनि काम

डा. अधिकारीका अनुसार विदुर नगरपालिकामा बाढीबाट प्रभावित पशुपालन क्षेत्रको क्षतिको विवरण संकलन गर्दा पाँचवटा ठूला बाख्रा, कुखुरा तथा गाईपालन फार्म प्रभावित भएको अभिलेख आएको छ । त्यस्तै, ३३० जना किसानले आफ्ना पशुपन्छीमा क्षति पुगेको विवरण नगरपालिकामा गराएका छन् । 

बाढीबाट मरेका पशुहरूको उचित व्यवस्थापनका लागि एफएओ नेपालसँगको सहकार्यमा नगरपालिकाका चार स्थानमा उपभोक्ता समिति गठन गरिएको उनले जानकारी दिइन् । विदुर नगरपालिका–५ र १० मा मृत पशुको अवशेष व्यवस्थापनको काम सुरु भइसकेको छ । केही स्थानमा पशुका हड्डी तथा अवशेष भेटिएपछि आवश्यक सुरक्षा सामग्री प्रयोग गरी चुन तथा निःसंक्रमक औषधि छर्केर व्यवस्थापन भइरहेको छ । 

बाढीबाट बगेका पशुका अवशेषले खानेपानीका स्रोत तथा वातावरण प्रदूषित गर्न सक्ने भएकाले वैज्ञानिक विधिबाट व्यवस्थापन गर्नु आवश्यक रहेको उनले बताइन् । प्रभावित क्षेत्रमा आवतजावत सहज भएपछि बाँकी स्थानमा पनि व्यवस्थापनको काम अघि बढाइने उनको भनाइ छ । पशुपालन क्षेत्रमा भएको क्षतिपछि किसानलाई पुनःस्थापित गर्न नगरपालिकाले विभिन्न विकल्पबारे योजना बनाइरहेको पनि उनले बताइन् । बाढीबाट प्रभावित गाई तथा बाख्रापालन गर्ने किसानलाई वैकल्पिक जीविकोपार्जनका रूपमा कुखुरा तथा बंगुरपालनमा जोड्ने विषयमा छलफल भइरहेको छ ।

डा. अधिकारीले विपद्का बेला मानव उद्धार र राहतलाई प्राथमिकता दिनु स्वाभाविक भए पनि पशुपन्छीको स्वास्थ्य र व्यवस्थापनलाई पनि विपद् व्यवस्थापनकै अभिन्न अंग बनाउनुपर्ने बताइन् । कृषि तथा पशुपन्छी क्षेत्रलाई बजेट र नीतिगत प्राथमिकता दिन नसक्दा स्थानीय तहमा समेत पशु स्वास्थ्य सेवा अपेक्षित रूपमा विस्तार हुन नसकेको उनको भनाइ छ । उनले बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरेपछि किसानको मनोबलसमेत कमजोर बनेको बताउँदै पुनः खेती गर्न सकिने जमिनबाट बालुवा, ढुंगा र माटो हटाउने तथा खेती गर्नै नसकिने जमिन गुमाएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरिन् । 

१५ पालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने एफएओको योजना
एफएओ नेपालका लाइभस्टक एन्ड वान हेल्थ एड्भाइजर डा. सुरेन्द्र कार्कीले बाढीपछि पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण संकलनदेखि उपचार र मृत पशुको व्यवस्थापनसम्मका काममा संगठनले नेपाल सरकारसँग सहकार्य गरिरहेको बताए ।

उनका अनुसार बाढीपछि पशु सेवा विभाग र स्थानीय तहसँगको समन्वयमा पशुपन्छीको क्षति तथा घाइते पशुको विवरण संकलन गरिएको थियो । घाइते पशुको उपचारका लागि स्थानीय तहलाई आवश्यक औषधि उपलब्ध गराइएको र मरेका पशुको व्यवस्थापनका लागि चुन तथा निःसंक्रमक औषधिसहित आवश्यक सामग्री प्रदान गरिएको छ ।

मृत पशुको अवशेष खोजी तथा व्यवस्थापनका लागि बाढी प्रभावित १५ वटै पालिकामा स्थानीय समुदाय परिचालन गरी टोली गठन गरिएको उनले जानकारी दिए । प्रत्येक पालिकामा स्थानीय किसान तथा समुदायलाई समेटेर उपभोक्ता समिति गठन गरी पशुका अवशेष र हड्डीको वैज्ञानिक व्यवस्थापन भइरहेको उनको भनाइ छ ।

कार्कीका अनुसार एफएओ नेपालले प्रारम्भिक चरणमा बाढी प्रभावित १५ वटै पालिकामा कम्तीमा एक÷एक वटा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ । सम्बन्धित पालिकाका पशु सेवा शाखासँग समन्वय गरी सबैभन्दा बढी आवश्यकता भएको स्थान पहिचान गरेर शिविर सञ्चालन गरिनेछ। आवश्यकताका आधारमा आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिइने उनले बताए ।

उनले पशुपन्छीको स्वास्थ्य मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै विपद्का बेला मरेका पशुको उचित व्यवस्थापन नहुँदा खानेपानीका स्रोत प्रदूषित हुने र त्यसबाट मानव स्वास्थ्यमा समेत जोखिम उत्पन्न हुन सक्ने बताए । नेपालजस्तो कृषि तथा पशुपालनमा निर्भर देशमा पशुपन्छी किसानको जीविकोपार्जनको मुख्य आधार भएकाले विपद् व्यवस्थापनका नीति तथा कार्यक्रममा पशु उद्धार, उपचार, आहार व्यवस्थापन र मृत पशुको वैज्ञानिक व्यवस्थापनलाई समेट्नुपर्ने उनको सुझाव छ ।

बाढी प्रभावित समुदायको पुनःस्थापनाका लागि स्थानीय आवश्यकताअनुसार पशुपालनलाई पुनःस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले कतिपय स्थानमा बाख्रा, कतै गाईभैँसी, कुखुरा वा बंगुरपालन उपयुक्त हुन सक्ने बताए । प्रभावित क्षेत्रमा दूध, अण्डा तथा मासुको उत्पादन र बिक्रीसँग जोडिएको मूल्य शृंखला पुनःस्थापित गर्ने गरी सरकार, स्थानीय तह र विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ छ ।

स्थानीय किसानले गरे एफएओको कामको प्रशंसा

शिविरमा सहभागी स्थानीय किसानले निःशुल्क पशु स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुँदा राहत मिलेको बताएका छन् । विदुर नगरपालिका–७ की स्थानीय जानुका अर्यालले एफएओ नेपालले सञ्चालन गरेको कार्यक्रमले प्रभावित किसानलाई सहयोग पुगेको बताइन् । वडा नम्बर ७ की कल्पना अधिकारीले पनि पशु स्वास्थ्य शिविरबाट किसान लाभान्वित भएको बताइन् । त्यस्तै, विदुर नगरपालिका–७ का भोजराज न्यौपाने र रामकृष्ण सापकोटाले पनि बाढीपछि प्रभावित पशुचौपायाको उपचार तथा किसानलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शिविरलाई सकारात्मक रूपमा लिएको बताएका छन् । 

तुप्चे शिविर समितिका अध्यक्ष रामप्रसाद अधिकारीले एफएओ नेपालले स्थानीय तहसँग सहकार्य गरेर सञ्चालन गरेको कार्यक्रमले आम किसानलाई लाभ पु¥याएको बताए । यस्ता कार्यक्रमले बाढीबाट प्रभावित किसानलाई पशुपालन पुनः सुरु गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

एफएओ नेपाल र विदुर नगरपालिकाले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिँदै बाढी प्रभावित पशुपन्छीको स्वास्थ्य उपचार, मृत पशुको व्यवस्थापन तथा किसानको जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम अघि बढाउने जनाएका छन् ।