logo-image

आइतबार, १३ मंसिर २०८३

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

आइतबार, १३ मंसिर २०८३ · समसामयिक

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू



काठमाडौं, मंसिर १३ । “एघारौँ संस्करणको ‘आइसिटी अवार्ड २०२६’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ घोषणा गरिएको हो ।

यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२६ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रुपमा पुष पहिलो साता एघारौँ संस्करणको आइसिटी अवार्ड हुदैछ । उत्कृष्ट ५ छनौटका लागि मंसिर ५ र ६ ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरूले १४ जना विज्ञ जुरी समक्ष आफ्नो स्टार्टअप, इन्नोभेसन र परियोजना बारे प्रस्तुती दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए । 

ग्राण्ड जुरीसहित आइसिटी अवार्डका विभिन्न प्रि–इभेन्टलाई समेटेर मंसिर १६ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा विशेष टेलिभिजन शो समेत प्रसारण हुनेछ। विशेष टेलिभिजन शो ३ एपिसोडमा प्रसारण हुनेछ । स्टार्टअप आइसिटी अवार्ड २०२६ विधामा उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा एक्सेलेरेटेड कम्प्युटिङ प्रा. लि., गरुडएक्स मल्टिपर्पज प्रा. लि., गोमाइगो बुकिङ्स प्रा. लि., लुमिनो टेक्नोलोजी प्रा. लि. र योद्धा ल्याब प्रा. लि. रहेका छन् । 

यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२६ विधामा बाइटआउट, सेन्ट्रोनिक्स, एक्साना, वानबीएनपीएल र पीडीएफमर्जेली उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ विधाका उत्कृष्ट ५ मा इभोमो, लाइफ लाइन, प्रेडिक्सन अफ प्रेडिक्सन, सिन्याप्टिक र ट्राफिक आई रहेका छन् । 

साथै सोसल इन्नोभेसन विधामा बरबर्दिया एग्रो–मेट्रोलोजिकल मेसेज एन्ड एड्भाइजरी सिस्टम, निदान ईएचआर, खेल्दै सिक्दै कक्षा, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन र राइड टु अर्न उत्कृष्ट ५ मा परेका छन् । आइसिटी अवार्ड २०२६ का यी ४ विधाहरुमा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप र सोसल इन्नोभेसन विधामा उत्कृस्ट १० तथा प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृस्ट १५ सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो । 

सेमिफाइनलिष्टहरूले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत मंसिर ३ र ४ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२६ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ ।

‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाइ भोट गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन, फिल्ड भिजिट र पब्लिक भोटिङका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ ।  

साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२६ मा सहभागी हुन पाउने छन् । यस विधाका लागि ‘हाम्रो पे’बाटै आफुलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ ।

आइसिटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको लोकप्रिय र प्रतिष्ठित कार्यक्रम हो । ११ वर्ष अघि सुरू भएको आइसिटी अवार्डले यस वर्ष विभिन्न १७ विधामा पुरस्कार प्रदान गर्दैछ । 
यस वर्ष आइसिटी अवार्डलाई इन्ड्राइभले शीर्ष प्रायोजन गरेको छ भने इन एशोशिएसन विथमा नेपाल पे क्युआर र टिङटिङ तथा पावर्ड बाईमा सस्तो टिकेट्स रहेका छन् । 

अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरणसहित विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय संस्थाहरुको सहकार्य रहेको छ ।