logo-image

सोमबार, ३० कात्तिक २०८३

एनपिएल : लुम्बिनीको शीर्षता कायम, चार टोली प्लेअफ समीकरणमा

सोमबार, ३० कात्तिक २०८३ · खेलकुद

एनपिएल : लुम्बिनीको शीर्षता कायम, चार टोली प्लेअफ समीकरणमा

 

काठमाडौं, कात्तिक ३० । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरू सोमबार सम्पन्न भएका छन्। लिग चरणको समाप्तिसँगै अंक तालिकाको शीर्ष चारमा रहेका टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने बाँकी चार टोली उपाधि होडबाट बाहिरिएका छन्।

ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित तथा प्रभावशाली प्रदर्शन गर्दै साविक विजेता लुम्बिनी लायन्स लिग चरणको सर्वाधिक सफल टोली बन्यो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले सात खेलमध्ये पाँच जित, एक हार र वर्षाका कारण एक खेलमा अंक बाँड्दै सर्वाधिक ११ अंकका साथ शीर्ष स्थानमा रहेर लिग चरण पूरा गर्‍यो। गत संस्करणको विजेता लुम्बिनीले यस पटक पनि सुरुवातदेखि नै प्रतिस्पर्धात्मक खेल पस्कँदै उपाधि रक्षाको बलियो दाबेदारी प्रस्तुत गरेको छ।

यसैगरी, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रहँदै लगातार तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ। करण केसीको कप्तानीमा चार जित र तीन हारसहित आठ अंक जोडेको काठमाडौँ गोर्खाज तेस्रो तथा तीन जित, तीन हार र एक बराबरीसहित सात अंक जोडेको चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गर्न सफल भएका छन्।

अर्कोतर्फ, अपेक्षाअनुसारको लय समात्न नसकेका विराटनगर किङ्स (पाँचौँ) र कर्णाली याक्स (छैटौँ) समान तीन जित र चार हार बेहोर्दै लिग चरणबाटै बाहिरिए। त्यस्तै, सात खेलमा मात्र दुई जित निकालेर चार–चार अंक जोडेका पोखरा एभेन्जर्स सातौँ र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स तालिकाको पुछार अर्थात् आठौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्। अब उपाधिका लागि साविक विजेता लुम्बिनीसँगै सुदूरपश्चिम, काठमाडौँ र चितवनबीच निर्णायक प्लेअफ चरणमा प्रतिस्पर्धा हुनेछ।