logo-image

शुक्रबार, ०८ जेठ २०८३

बेहुली चलचित्रको छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा दर्शकमाझ आउँदै

शुक्रबार, ०८ जेठ २०८३ · मनोरञ्जन

बेहुली चलचित्रको छायाङ्कन ४५ दिनमा सम्पन्न, भदौ १२ मा दर्शकमाझ आउँदै


काठमाडौं, जेठ ८ । पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ । तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन् । 

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट ’को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ । रिलिजको नजिकै रहेको हरितालिका तीजको भावना र बेहुलीको कथाबीचको यो तालमेल दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको अपेक्षा छ । 

चलचित्रमा कुलब्वाय र दिव्याको जोडीलाई लिएर दर्शकमा पहिलेदेखि नै चर्चो छ । ‘होस्टेल ३’ बाट चलचित्र यात्रा शुरू गरेका कुलब्वाय यसपटक एउटा परिपक्व प्रेमकथामा दिव्यासँग स्क्रिन शेयर गर्दैछन् । दुवैको स्क्रिन केमेस्ट्री कस्तो रहला भन्ने कुराले दर्शकमाझ उत्सुकता जगाएको छ ।

चर्चित सङ्गीतकार अर्जुन पोखरेल पहिलो पटक निर्माताको भूमिकामा होमिएका यस चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् भने कथा माधव शर्माले लेखेका हुन् । सुपरहिट ‘होस्टेल ३’ मा पनि यही निर्देशक–लेखक जोडीले काम गरेका थिए । 

यस पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, बिशाल पहारी, कर्मा लामा, दिपक गौली , बिमल यादब, अबिरल श्रेस्ठ, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरू पनि चलचित्रमा छन् । कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह–निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ’बेहुली’ मा शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन् । नरेन्द्र मैनालीको छायाङ्कन (डीओपी) रहने चलचित्रलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको रोशन श्रेष्ठको छ ।

यस्तै, चलचित्रको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् भने प्रोडक्सन हेडको जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका छन् । राजु वाइबाको मेकअप, किशोर नेपालको प्रोडक्सन डिजाइन र एलेक्स बासुकलाको पहिरन डिजाइन रहने चलचित्रको पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले गरेका हुन् । चलचित्रलाई काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।