logo-image

शुक्रबार, ०८ जेठ २०८३

रवि लामिछानेलाई रास्वपा सांसदहरुले सोधे– सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?

शुक्रबार, ०८ जेठ २०८३ · राजनीति

रवि लामिछानेलाई रास्वपा सांसदहरुले सोधे– सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?

काठमाडौं, जेठ ८ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले पार्टी सभापति रवि लामिछानेलाई सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा पार्टीको औपचारिक धारणा के हो ? भन्दै प्रश्न गर्नुभएको छ । 

शुक्रवार सिंहदरबारस्थित संसदीय दलको पार्टी सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरुसँग छलफल गर्नुभएको छ । उक्त छलफल सांसद राना मगरले सुकुम्बासी बस्ती हटाउने सरकारको कार्यबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताउनु भयो । उहाँले छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा बुझ्न चाहेको बताउनु भयो । उहाँले केन्द्रीय सरकारको निर्देशन भएको भन्दै झापाका स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन भन्दै सूचना जारी गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो । सांसद राना मगरले काठमाडौंमा सरकारले सुकुम्बासी हटाएको घटनालाई आधार बनाएर झापालगायतका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु उचित नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रदेशगत समस्याहरुबारेमा सभापतिसँग छलफल गरेका हौँ । यो सुकुम्बासी बस्ती व्यवस्थापनको सम्बन्धमा हाम्रो पार्टीको धारणा के हो ? मैले स्पष्टसँग पार्टीको धारणा आउनुपर्ने कुरा राखे । किनभने अहिले स्थानीय सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा जे पायो त्यही गरिरहेको छ । लालपूर्जा भएका नागरिकलाई पनि नोटिस दिएर उठ्नु भनिरहेको छ । उनीहरुले त कर तिर्नुभएको छ नि । केहि ठाउँममा जग्गाको दामभन्दा बढी कर उठाएको विषय पनि छ । यस विषयमा हाम्रो पार्टीको औपचारिक धारणा के हो ? नदिहरुको संरक्षण गर्नुपर्छ भन्ने कुरा त कानून मै छ नि । नदि हडपेर बस्नु चाँही गलत हो । काठमाडौंमा सरकारले सुकुम्बासी हटायो भन्दै झापामा स्थानीय तहले सूचना जारी गरेर खालि गराउन ख लागिरहेका छन् । यो त ठिक भएन नि ।’

सभापति लामिछानेले कोशीबाट निर्वाचित रास्वपा सांसदहरुसँग छलफल गर्नुभएको हो । अहिले मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहनुभएको छ ।–न्युज एजेन्सी नेपाल