आइतबार, ०३ जेठ २०८३
आइतबार, ०३ जेठ २०८३ · मनोरञ्जन
काठमाडौं, जेठ ३ । नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको यस चलचित्रले डायस्पोरा रिलिज र दोस्रो साताको सफलतालाई लक्षित गर्दै ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ ।
रामकृष्ण ढकालको स्वर रहेको मर्मस्पर्शी गीत ‘झुटो आरोप’मा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको छ । यस गीतमा रिकेश गुरुङको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । चलचित्रको कथावस्तुलाई थप जीवन्त बनाउने यो गीतले दर्शकलाई अझ बढी आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ ।
नेपालमा बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको यो चलचित्र आज (मे १५) देखि उत्तर अमेरिकाका दर्शकमाझ पनि पुगेको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतका प्रमुख सहरहरूमा दैनिक शोसहित चलचित्र बक्स अफिसमा प्रदर्शनमा आएको हो। अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन भइरहेको चलचित्रको अग्रिम बुकिङ निकै उत्साहजनक रहेको छ । त्यस्तै, क्यानडा प्रदर्शनका लागि आँगन इभेन्ट्सले अधिकार खरिद गरिसकेको छ भने अन्य देशहरूमा पनि चलचित्रको अधिकार ‘सोल्ड आउट’ भइरहेको र छिट्टै विस्तृत जानकारी दिइने निर्माता रामकृष्ण ढकालले बताएका छन् ।
सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई पेट मिचीमिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउने ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’को सङ्ज्ञा दिएका छन् । विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको जीवन्त प्रस्तुतिले सबैको मन जितेको छ। दर्शकबाट प्राप्त यही मायाले चलचित्रको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन् ।