logo-image

बिहिबार, ०७ जेठ २०८३

कान्स रेड कार्पेटमा हिमाली छुर्पीका भूपेन्द्र खनाल र स्नेह शर्माले झल्काएको जनावर प्रेम

सोमबार, ०४ जेठ २०८३ · मनोरञ्जन

कान्स रेड कार्पेटमा हिमाली छुर्पीका भूपेन्द्र खनाल र स्नेह शर्माले झल्काएको जनावर प्रेम


काठमाडौं, जेठ ४ । रेड कार्पेटमा सेलिब्रिटी र प्रभावशाली व्यक्तित्वका उपस्थिति, उनीहरूका पहिरनका डिजाइन र स्टाइल, त्यहाँ उनीहरूले सिधै वा साङ्केतिक रूपमा उठाउने मूद्दा । 

सन् २०२६ को प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको त्यस्तै माहोलमा मोरङ, उर्लाबारीका भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा (खनाल) देखा परेका छन् । सेलिब्रिटीमय बनेको उक्त भारतको बैङ्लोरमा मुख्यालय रहेको कुकुरलाई खुवाइने अन्तर्राष्ट्रिय छुर्पी ब्रान्ड ‘डक्सी च्यू’का संस्थापक उनीहरूले घरेलु जनावरप्रतिको माया र रेखदेखको महत्त्व झल्काउन खोजे ।  

खनाल र शर्माको उक्त उपस्थितिलाई घरपालुवा जनावरको रेखदेखको विषयले पाएको विश्वव्यापी महत्त्वका रूपमा हेरिएको छ । उद्यमी भइकन पनि खनाल दम्पत्तीले आफूहरूलाई ‘कुकुरका अभिभावक’ भन्न रूचाउँछन् । रेड कार्पेटमा उनीहरूको आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’ लाई प्रेम, वफादारी र आत्मियताको प्रतीकको रूपमा आफ्ना रेड कार्पेटमा हिँड्दा लगाएका पोशाकमा कढ़ाई गरेका थिए । 

‘मैले लगाएको कोट भारतीय स्टाइलको मनका गाला थियो, त्यसमा परम्परागत भातगाउँले नेपाली टोपी र पेरिसको १०० वर्ष पुरानो डिजाइनर्स स्टीफन कार्लोसको कालो बुटले हाम्रो जीवनमा मिश्रित संस्कृति र भूमण्डलीकरणको भाव दिन खोजिएको थियो,’ भूपेन्द्र खनाल भन्छन् । ‘मेरो लागि यो केवल फेसन मात्र थिएन। यो पहिचान, हाम्रो जनजीवनमा झल्कँदै आएको मौलिक सम्पदा, प्रेम र मलाई यहाँसम्म डो¥याउने यात्राको बारेमा थियो । ’कुनै बेला भारतमा सोसल मिडियाको विश्लेषण गर्ने एक चर्चित् कम्पनी ‘सिम्प्लिफाई ३६०’ का संस्थापक रहेका उनी एक दशकयता छुर्पी उद्योगमा मोडिएका थिए । 

आधुनिकतासँगै बदलिरहेको हाम्रो पछिल्लो जीवनशैलीमा घरपालुवा जनावरहरू परिवारका अभिन्न सदस्यका रूपमा झन्झन् नजिकिँदा छन्। त्यस्तोमा घरपालुवा जनावरको पोषण, कल्याण र राम्रो हेरचाह दिने विषय विश्वव्यापी मूलधारको आन्दोलनमा विकसित भएको छ । “कान्स त्यस्तो मञ्च हो जहाँ संसारका लोभलाग्दा कथाहरूले आफ्ना दर्शक भेटाउँछन् र तिनलाई विशाल रूपले बढाउने अवसर पाउँछन् । डगसीले घरपालुवा जनावर निकै राम्रो माया र स्याहारका हकदार छन् भन्ने अडिक विश्वासको सुरुवात गरेको थियो । सोही विश्वासले एक दशकमा हामीलाई ७९ औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा ल्याएको छ । जब तपाईँ ठूलो सोच्नुहुन्छ र आफ्नो दृष्टिकोणप्रति प्रतिबद्ध रहनुहुन्छ तब त्यस्तै हुन्छ,“ डगसी च्यूकी सह–संस्थापक तथा सीएमओ स्नेह शर्माले भनिन् । 

खनाल दम्पत्तीले ‘डग्सी च्यू’ का लागि कान्सको रेड कार्पेट उपस्थितिलाई विश्वभर घरपालुवा जनावरसँग घुलमिल हुने बढ्दो सांस्कृतिक र त्यसले देखाएको व्यावसायिक महत्त्वको सङ्केतका रूपमा हेरिएको छ । उद्यमीका रूपमा स्नेह शर्मा र भूपेन्द्र खनालले सन् २०१५ मा स्थापना गरेको डग्सी च्यूले हिमालय क्षेत्रको प्राकृतिक छुर्पीलाई कुकुरको स्वास्थ्यसँग जोडेर अगाडी बढाइरहेको छ । नेपाल र भारतका हिमाली भेगका दुधबाट बन्ने छुर्पी उनीहरू विश्वबजारमा पठाउँछन् । त्यसरी वार्षिक २६० करोड भारतीय रूपैयाँको कारोबार गर्ने यस उत्पादनले विश्व बजारमा हिमालयन याक च्यूका रूपमा त्यसले  बेग्लै पहिचान बनाउन सकेको छ । आजका दिनमा यस ब्रान्ड ३० भन्दा बढी देशमा फैलिएको छ । उक्त छुर्पीसँग घरपालुवा जनावरहरू सफा, स्वस्थ र अधिक प्राकृतिक पोषणका हकदार रहेको विश्वास गर्ने विश्वभरका लाखौँ परिवार जोडिएका छन् । 

“घरपालुवा जनावरको हेरचाह, कल्याण, पोषण र उनीहरूप्रतिको सचेत जीवनलाई लिएर हाल अर्थपूर्ण रूपबाट विश्वव्यापी बहस सुरु भएको छ । हामीलाई यहाँ निम्त्याइनु त्यसकै प्रतिबिम्व पनि हो । हाम्रा लागि यो एक उत्कृष्ट अवसर र क्षण हो । हिमालयमा जन्मेको ब्रान्ड यहाँसम्म आइपुग्नु साँच्चै विशेष छ“, स्नेह शर्मा र भूपेन्द्र खनाल भन्छन् । यसअघि सन् २०२४ को कान्स रेड कार्पेटमा हाल नेपालका प्रधानमन्त्री रहेका बालेन्द्र शाह ‘बालेन’ सहभागी भएका थिए ।