शुक्रबार, ०८ जेठ २०८३
शुक्रबार, ०८ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ ८ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ ।
जसमध्ये उपत्यकाबाट ३ जना, कोशी प्रदेशबाट १ जना, मधेश प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक २१ थान, बन्दुक १ थान र एयरगन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली १ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।
अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील छ । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा हातहतियार प्रयोग भएको देखिन्छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।