logo-image

शुक्रबार, ०८ जेठ २०८३

भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट–२०२६’ सुरु

शुक्रबार, ०८ जेठ २०८३ · अर्थ

भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट–२०२६’ सुरु



काठमाडौं, जेठ ८ । ‘अन द ल्याप अफ नेचर एण्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने नयाँ आशा जगाएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका गुराँस गाउँपालिकाको समन्वयमा बिहीबार वीरेन्द्रनगरमा सुरु भएको सम्मेलनमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक वैभव र दिगो पर्यटन विकासबारे बहस गरिएको छ ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यता उद्घाटन गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जग्दिश्‍वर उपाध्याय, नेपाल एसोसिएसन फर टुर एण्ड ट्राभल्स (नाटा) बाँके शाखाका प्रमुख तथा प्रतिनिधिहरु, कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरु, भारतीय पर्यटन व्यवसायी, निजी क्षेत्र तथा पर्यटनकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कर्णाली टुरिजम् मिट–२०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँको पर्यटन विकासले समग्र नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले कर्णालीलाई विगतदेखि नै भौगोलिक विकटताको रुपमा हेरिएको भए पनि अहिले अथाह पर्यटकीय सम्भावना बोकेको भूमिको रुपमा परिचित भइरहेको उल्लेख गरे । “कर्णाली घुम्ने मात्र होइन, अनुभूति गर्ने भूमि हो,” उनले भने, “यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो ।”

उनले कर्णालीका रारा, शे–फोक्सुण्डो, काँक्रेविहार, गुराँसे, हुम्ला र डोल्पाजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न आवश्यक रहेको उल्लेख गरे । पर्यटनमन्त्री अधिकारीले थपे, “नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्नेछ । यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउनेछ ।”

त्यसैगरी पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले कर्णाली नेपालको पश्चिम भूगोलको एउटा प्रदेश मात्र नभई नेपाली सभ्यता, हिमाली संस्कृति, जैविक विविधता र मौलिक जीवनशैलीको जीवन्त संग्रहालय भएको बताए । “आज विश्व पर्यटन बजार कृत्रिम संरचनाभन्दा मौलिक अनुभव खोजिरहेको छ,” उनले भने, “पर्यटकहरु संस्कृति बुझ्न, स्थानीय जीवन अनुभव गर्न, आध्यात्मिक शान्ति खोज्न र प्रकृतिसँग पुनः जोडिन यात्रा गरिरहेका छन् । कर्णालीले यिनै सबै विशेषता बोकेको छ ।”  सचिव निरौलाले सुर्खेत अब केवल ट्रान्जिट नभई कर्णाली पर्यटनको रणनीतिक केन्द्रका रूपमा विकास भइरहेको उल्लेख गर्दै सडक, हवाई पहुँच, होटल पूर्वाधार र व्यापारिक गतिविधिका कारण यसको महत्व बढेको बताए । “कर्णाली प्रवेश गर्ने पर्यटकका लागि सुर्खेत पहिलो अनुभव हो,” उनले भने, “त्यो अनुभवलाई व्यवस्थित, गुणस्तरीय र स्मरणीय बनाउन पर्यटन व्यवसायीहरु अझ जिम्मेवार हुन आवश्यक छ ।”

उनले सरकारले पर्यटनलाई आर्थिक रूपान्तरणको आधारका रूपमा अघि बढाएको जानकारी दिँदै पर्यटन ऐन परिमार्जन, लगानीमैत्री वातावरण निर्माण, आरोग्य पर्यटन रणनीति, ग्रामीण पर्यटन, धार्मिक तथा साहसिक पर्यटन प्रवद्र्धनजस्ता नीतिगत सुधारमा काम भइरहेको बताए । “अब कर्णालीलाई केवल दुर्गम भनेर होइन, दुर्लभ सम्भावनाको भूमि बनेको छ । त्यसकारण अब ‘हाई भ्यालु टुरिजम् डेस्टिनेशन’ को रुपमा चिनाउने समय आएको छ । अब कर्णाली करुणाको कथाका लागि होइन, विशाल सम्भावना र समृद्धिको यात्राका कथाहरु संसारलाई सुनाउनुपर्छ । यसका लागि हाम्रो साझा पहल अत्यन्त महत्वपूर्ण रहन्छ ।

सचिव निरौलाले थपे, “पर्यटनले स्थानीय युवालाई रोजगारी दिनुपर्छ, स्थानीय उत्पादनलाई बजार दिनुपर्छ र स्थानीय समुदायको जीवनस्तर उकास्नुपर्छ ।” पर्यटन सचिव निरौलाले कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरुलाई कर्णालीमा घुम्‍न, लगानी गर्न र भारतीय पर्यटकलाई यहाँको अनुपम सौन्दर्य अनुभव गराउन आग्रह गरे । नेपाल–भारत सम्बन्ध केवल सीमामा सीमित नभई साझा संस्कृति, सभ्यता र जनस्तरको आत्मीय सम्बन्धमा आधारित रहेको उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारत नेपालको लागि विशाल पर्यटन बजार रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अहिले भारतीय पर्यटकका लागि अत्यन्त उपयुक्त गन्तव्य भएको बताए । उनले सीमा जोडिएको प्रदेश नभए पनि सीमाबाट तीन घण्टाको दूरीमा कर्णाली पुग्‍न सकिने भएकोले भारतीय पर्यटक आकर्षित गर्न सेवा र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । “अहिले गर्मीको मौसम छ,” उनले भने, “सीमावर्ती भारतीय पर्यटकहरुलाई हामी कर्णाली भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछौं । यहाँको चिसो मौसम, प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र हिमाली अनुभूति अहिलेको समयमा घुम्नका लागि उत्कृष्ट अवसर हो ।”

ऐरले कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न सेवा गुणस्तर सुधार, पर्यटन पूर्वाधार विस्तार, कनेक्टिभिटी वृद्धि र भारतीय पर्यटन क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए । “सुर्खेत कर्णालीको प्रवेशद्वार हो,” उनले भने, “हामी नयाँ साझेदारीमार्फत भारतीय पर्यटन व्यवसायीहरुसँग सहकार्य विस्तार गर्न चाहन्छौं ।”
कर्णालीमा अथाह सम्भावना
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले  कर्णालीमा अथाह पर्यटन सम्भावना भए पनि यसको प्रभावकारी प्रचारप्रसार हुन नसकेको बताएकी छन् । उनले सुर्खेत कैलाश मानसरोवर यात्राको प्रवेशद्वार समेत भएको उल्लेख गर्दै पर्यटन विकासका लागि सुर्खेतको रणनीतिक महत्व बढ्दो रहेको उनको भनाई थियो । सुर्खेतमा आउने पर्यटकको बसाइ सुखद र स्मरणीय बनाउन नगरपालिका प्रतिबद्ध रहेको उनले बताइन् ।

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले स्थानीय तहले पर्यटनलाई उद्योगका रूपमा स्वीकार गर्दै समुदायस्तरमा पर्यटनबारे जनचेतना विस्तार गरिरहेको बताए । “हामीले पर्यटनलाई व्यवस्थित र व्यवसायिक बनाउने प्रयास गरिरहेका छौं,” उनले भने, “यो कार्यक्रमले कर्णालीमा बढीभन्दा बढी पर्यटक ल्याउने नयाँ ढोका खोलेको छ ।”

पर्यटन व्यवसायी श्रीराम सिग्देलले “कर्णाली पर्यटनको गेटवे सुर्खेत” भएको उल्लेख गर्दै सुर्खेतलाई पर्यटन हबका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । भारतीय पर्यटन व्यवसायीहरुको संस्था ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इण्डियाका अध्यक्ष राजेश सिन्हाले कर्णाली आफ्नो लागि नयाँ पर्यटन गन्तव्य बनेको बताए । “हाम्रो लागि कर्णालीले नयाँ ढोका खोलि दिएको छ,” उनले भने, “हामी भारतीय पर्यटकहरुलाई कर्णालीसँग जोड्ने छौं । अहिलेको मौसममा कर्णाली हाम्रा लागि उपयुक्त प्याकेज बन्‍ने छ । कर्णालीका पर्यटन उत्पादनहरुका लागि हामी नयाँ प्याकेजहरु बनाउने छौं ।”

त्यसैगरी सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले कर्णालीमा पर्यटक आगमन संख्या अझै न्यून रहेको उल्लेख गर्दै पर्यटक र पर्यटकीय गतिविधिको सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको उल्लेख गरे । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्षविक्रम खड्काले कार्यक्रम कर्णाली पर्यटन विकासका लागि कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । उनले काक्रेविहार, बुलबुले ताल, भेरी राफ्टिङ, देउती बज्यै मन्दिरलगायत सुर्खेतका पर्यटकीय सम्पदाको चर्चा गरे ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक हरि सुवेदीले “कर्णाली प्रदेश पर्यटन:सम्भावना र चुनौती” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उद्घाटन सत्रको समापन गर्दै कर्णाली टुरिजम् मिट–२०२६ का संयोजक तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णाली पर्यटन प्रवद्र्धनका लागि सरकारी, निजी र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको बताए ।

कार्यक्रममा कर्णालीको मौलिक हुड्के नाच, देउडा प्रस्तुति तथा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बोर्डले सातवटै प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष कोशीदेखि सुदूरपश्‍चिम प्रदेशसम्म विभिन्‍न ट्राभल मार्ट तथा टुरिजम् मिटहरु गर्दै आइरहेको छ । जस अन्तर्गत यस वर्ष कर्णाली प्रदेशमा टुरिजम् मिट आयोजना गरिएको हो ।

कर्णाली टुरिजम् मिट अन्तर्गत भारतबाट आएका पर्यटन व्यवसायी र पत्रकारहरुका लागि शुक्रबार दैलेख र गुराँस क्षेत्र केन्द्रित ‘फ्याम ट्रिप’ गरिने भएको छ । सहभागीहरुलाई दैलेख भ्रमण गराइनेछ भने गुराँस हिल स्टेशनमा अनुभव आदानप्रदान, स्थानीय संस्कृति र अर्गानिक परिकारसँग परिचित गराइने कार्यक्रम रहेको कार्यक्रम संयोजक शाहीले जानकारी दिएका छन् । यसैगरी शनिबार सुर्खेतमा रहेको गोठीकाँडा, कोटगढीलगायतका पर्यटकीय क्षेत्रको अवलोकन गराइनेछ । कार्यक्रम जेठ १० गते समापन हुनेछ ।