logo-image

सोमबार, १८ जेठ २०८३

एउटा गलत नम्बरको महँगो मूल्य : क्षणभरको रिस, जुनीभरको पछुतो

बिहिबार, २६ चैत २०८२ · समसामयिक

एउटा गलत नम्बरको महँगो मूल्य : क्षणभरको रिस, जुनीभरको पछुतो


ललितपुर, चैत २६ । पाटन दरबार क्षेत्रमा बुधबार साँझ घटेको एउटा घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। एउटा सामान्य 'रङ नम्बर' का कारण सुरु भएको विवादमा दुई दाजुभाइ ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङले ज्यान गुमाउनु परेपछि मानवीय संवेदनामाथि नै प्रश्न उठेको छ।

लन्डनमा रहेकी आमालाई भेट्न जाने अन्तिम तयारीमा रहेका उनीहरू एउटा सानो त्रुटि सच्याउन र माफी माग्न घटनास्थल पुगेका थिए, तर त्यहीँ उनीहरूको जीवनको अन्तिम यात्रा तय भयो। यो घटनाले नेपाली समाजमा बढ्दै गएको चरम असहनशीलता र अनियन्त्रित 'आवेग' को भयावह रुपलाई छर्लङ्ग पारेको छ।

आजकल समाजमा सानो कुरामा पनि हतियार उठाउने वा हिंसामा उत्रिने प्रवृत्ति एउटा गम्भीर रोगका रूपमा देखिएको छ। मानिसहरूमा धैर्यताको यति धेरै खडेरी परेको छ कि एउटा अन्जानमा भएको गल्ती वा सामान्य शब्दको विनिमय पनि ज्यानमारा आक्रमणमा परिणत हुन थालेको छ। पारिवारिक सम्बन्धहरूदेखि लिएर सडकको सामान्य विवादसम्ममा देखिने यस्तो उग्रताले समाजलाई असुरक्षित बनाउँदै लगेको छ। रिसको एक झोँकलाई नियन्त्रण गर्न नसक्दा आज दुई युवाको भविष्य सकिएको छ भने अर्कोतर्फ एक व्यक्ति आजीवन जेलको पर्खालभित्र पुगेका छन्।

दार्शनिक दृष्टिकोणबाट हेर्दा, मानिस र पशुबीचको मुख्य भिन्नता नै विवेक र धैर्य हो। तर, पाटनको यो घटनाले मानिसले विवेक गुमाउँदाको मूल्य कति महँगो हुन्छ भन्ने देखाएको छ। रिस एउटा क्षणिक आवेग त हो, तर यसको परिणाम दीर्घकालीन र कहिल्यै निको नहुने घाउ बनेर आउँछ। समाजमा व्याप्त मानसिक तनाव, आर्थिक कुण्ठा र संवादको कमीले गर्दा मानिसहरूमा सहनशक्ति घट्दै गएको देखिन्छ। जबसम्म हामीले 'रिस व्यवस्थापन' र 'संवादको संस्कृति' लाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउँदैनौँ, तबसम्म यस्ता निर्दोष ज्यानहरू गइरहने जोखिम कायमै रहन्छ।

पूर्वीय दर्शनदेखि पाश्चात्य चिन्तकहरूले रिसलाई सधैँ विनाशको कारक मानेका छन्। गौतम बुद्धले भनेझैँ, 'रिस एउटा यस्तो तातो कोइला हो, जसले अरूलाई जलाउनुअघि आफ्नै हात डढाउँछ।' पाटनको यो घटनामा पनि त्यही देखियो- आरोपीको एक क्षणको आवेगले दुई निर्दोषको ज्यान मात्र लिएन, स्वयं उनको जीवन पनि अन्धकारतर्फ धकेलियो। दार्शनिक सेनेकाले भनेझैँ यहाँ रिसको कारण एउटा रङ नम्बर भन्दा त्यसको परिणाम दुईवटा हत्या हजारौँ गुणा भयावह सावित भयो।

अन्ततः, यो घटना केवल एउटा हत्याको समाचार मात्र होइन, यो हामी सबैका लागि एउटा चेतावनी पनि हो। कसैको एउटा फोन कल, कसैको सानो गल्ती वा कसैको हतारोलाई लिएर आवेशमा आउनुअघि साेच्ने विवेक आउनु जरूरी छ। एउटा घर उजाडिन र कसैको आमाको काख रित्तिन केबल एक सेकेन्डको अनियन्त्रित रिस काफी हुन्छ। त्यसैले, समाजलाई फेरि मानवीय र सुरक्षित बनाउन हामीले आफ्नै रिसमाथि विजय पाउन सिक्नु अनिवार्य छ। - वसन्त आचार्य

 

ताजा समाचार