logo-image

सोमबार, २९ असार २०८३

सञ्चारगृहदेखि महामन्त्री थापाको मूल ढोकासम्मै शंकास्पद गाडीको अवरोध

सोमबार, २९ असार २०८३ · समसामयिक

सञ्चारगृहदेखि महामन्त्री थापाको मूल ढोकासम्मै शंकास्पद गाडीको अवरोध


काठमाडौं, असार २९ । काठमाडौंमा सोमबार बिहानैदेखि नियोजित र रहस्यमय ढंगले मुख्य क्षेत्रका गेटहरू थुन्ने गरी शंकास्पद गाडीहरू बेवारिसे छाड्ने क्रम देखिएको छ।

तीन ठूला सञ्चारगृहको गेट अवरुद्ध पारिएलगत्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासको मूल ढोका नै थुन्ने गरी अर्को गाडी तेर्स्याइएको पाइएको छ। बिहान करिब ७ बजेदेखि थापाको निवासअगाडि बा.ए.सी. ९५७५ नम्बरको गाडी यसरी पार्क गरिएको छ कि त्यहाँबाट मोटरसाइकलसमेत आवतजावत गर्न सक्ने अवस्था छैन।

यसअघि बिहानै कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि आउजाउ ठप्प पार्ने गरी साँचो विनाका गाडीहरू छाडिएका थिए, जसका कारण पत्रकार तथा कर्मचारीहरूलाई कार्यालय प्रवेशमा ठूलो बाधा पुगेको थियो। यातायात व्यवस्था विभागको रेकर्ड अनुसार कान्तिपुर अगाडिको गाडी (बा प्रदेश ०१-०३-०३४ च ८४८०) सानिमा बैंक, अनलाइनखबर अगाडिको गाडी (बा १२ च ८५4५) सुनील पौडेल र हिमालय टेलिभिजन अगाडिको गाडी (बा १२ च १२५५) सुवास भण्डारीको नाममा दर्ता रहेको खुलेको छ।

एकैसाथ सञ्चारजगत् र प्रमुख राजनीतिक नेतालाई लक्षित गरी गरिएको यो श्रृंखलाबद्ध अवरोधको उद्देश्य के हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले क्रेन लगाएर ती गाडीहरू हटाएको छ भने जिल्ला प्रहरी परिसर काठमाडौँले सीसीटीभी फुटेजका आधारमा वास्तविक चालकहरूको खोजी गरिरहेको छ। प्रेस स्वतन्त्रता र सुरक्षामाथि प्रहार भएको भन्दै नेपाल पत्रकार महासंघले यस नियोजित घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ।