logo-image

सोमबार, १५ भदौ २०८३

अस्ताए ‘निम्सदाइ’ तर मेटिंदैनन् उनका ऐतिहासिक कीर्तिमान

आइतबार, १७ साउन २०८३ · समसामयिक

अस्ताए ‘निम्सदाइ’ तर मेटिंदैनन् उनका ऐतिहासिक कीर्तिमान

 

काठमाडौं, साउन १७ । विश्व पर्वतारोहण इतिहासका एक चम्किला तारा, कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा परी निधन भएको छ। उनीसँगै अन्य नौ जना आरोहीहरूको पनि ज्यान गएको यो असामयिक दुर्घटनाले नेपाल मात्र नभई सिंगो विश्व पर्वतारोहण समुदायलाई स्तब्ध र शोकमग्न बनाएको छ।

उनले स्थापना गरेको अभियान कम्पनी एलिट एक्स्पेडले पुर्जाको निधन भएको पुष्टि गरेको छ। ब्रोड पिकमा गएको हिमपहिरोमा परेर उनका आरोहण सहयोगीहरू पूराबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पा लगायतका सदस्यहरूको पनि निधन भएको छ।

सन् २०१९ मा उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका थिए। यसअघि उक्त कीर्तिमान बनाउन अन्य आरोहीलाई करिब आठ वर्ष लागेको थियो। उनको यो 'प्रोजेक्ट पसिबल' उपलब्धिलाई विश्व पर्वतारोहणकै इतिहासमा असाधारण र चमत्कारिक सफलता मानिन्छ।

म्याग्दीमा जन्मिएका पुर्जा पछि परिवारसँगै चितवन बसाइँ सरेका थिए। भूपू गुर्खा सैनिकको पारिवारिक पृष्ठभूमिमा हुर्किएका उनले सन् २००३ मा बेलायती सेनाको 'ब्रिगेड अफ गुर्खाज' बाट आफ्नो सैनिक यात्रा सुरु गरेका थिए। त्यसपछि सन् २००९ मा बेलायती रोयल नेभीको अत्यन्तै कठिन र विशिष्ट मानिने 'स्पेसल बोट सर्भिस' (SBS) मा छनोट हुने उनी पहिलो गुर्खा बने। पछि 'स्पेसल एयर सर्भिस' (SAS) मा समेत आबद्ध रहेर सेवा गरेका उनले सैनिक जीवनपछि आफ्नो सम्पूर्ण जीवन पर्वतारोहणमै समर्पित गरे।

सन् २०१२ मा लोबुचे हिमालबाट आरोहण यात्रा सुरु गरेका पुर्जाले सन् २०१४ मा धौलागिरि र २०१६ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। यस्तै सन् २०१७ मा उनले केवल ५ दिनभित्र सगरमाथा, ल्होत्से र मकालु हिमालको सफल आरोहण गरेर अर्को अद्भुत कीर्तिमान रचेका थिए।

आफ्नो अद्भुत क्षमता, अदम्य साहस र नेतृत्व कुशलताका माध्यमबाट उनले नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय पर्वतारोहण जगतमा नयाँ उचाइमा पुर्‍याएका थिए। हिमालका यी साहसी योद्धाको भौतिक अवसान भए पनि उनले बनाएका ऐतिहासिक कीर्तिमान र योगदान युगौँयुगसम्म अमर रहनेछन्।

निर्मल पुर्जाको असामयिक निधनले नेपालले एक साहसी सपुत र विश्वले असम्भवलाई सम्भव बनाउने प्रेरणादायी व्यक्तित्व गुमाएको छ। उनको निधनप्रति नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलगायत विश्वभरका विशिष्ट व्यक्ति, पर्वतारोही तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, "पर्वतारोहण केवल शिखरमा पुग्ने यात्रा होइन, यो साहस, अनुशासन, त्याग र मानव सीमाभन्दा माथि उठ्ने अठोटको सर्वोच्च अभिव्यक्ति हो। हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, तर कहिलेकाहीँ आफ्नै काखमा सधैंको लागि समेट्छ। यद्यपि पर्वतारोहीहरू आफ्नो साहस र समर्पणमार्फत अमर रहन्छन्।"

भौतिक रूपमा उनी हामी माझ नरहे पनि ‘निम्सदाइ’ले नेपालको नाम विश्वमञ्चमा उचाइमा पुर्याएको योगदान, उनका साहसिक कीर्तिमानहरू र "Nothing Is Impossible" (केही पनि असम्भव छैन) भन्ने उनको अजेय सोचले आगामी पुस्ताका पर्वतारोहीहरूलाई सधैं प्रेरित गरिरहनेछ।