logo-image

शनिबार, २७ भदौ २०८३

नेपाल दोस्रोपटक एसिया कपमा: युएईलाई ४४ रनले हराउँदै उचाल्यो उपाधि

शनिबार, २७ भदौ २०८३ · खेलकुद

नेपाल दोस्रोपटक एसिया कपमा: युएईलाई ४४ रनले हराउँदै उचाल्यो उपाधि

 

काठमाडौं, भदौ २७ । नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै आगामी वर्ष बंगलादेशमा आयोजना हुने एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले १०२ रनको शतकीय पारी खेले भने गुल्सन झाले ५२, अर्जुन कुमालले ४३ र कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए। बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए।

३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका राहुल चोपराले अविजित १०० रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। नेपालका लागि करण केसीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।

यसअघि सन् २०२३ मा पनि नेपालले यूएईलाई नै हराएर प्रिमियर कपको उपाधि जितेको थियो।