बिहिबार, ३२ असार २०८३
बुधबार, १७ असार २०८३ · समसामयिक
काठमाडौँ असार १७ । नेपालमा मनसुन भित्रिएको १२ दिनपछि बल्ल देशभरि पूर्ण रूपमा मनसुनी वायु फैलिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशैभर यसकै प्रभावका कारण मौसममा फेरबदल आइरहेको छ।
बुधबार बिहानैदेखि संघीय राजधानी काठमाडौँ उपत्यका सहित बागमती र गण्डकी प्रदेशका विभिन्न भू-भागहरूमा लगातार वर्षा भइरहेको छ। महाशाखाको पछिल्लो विवरण अनुसार छोटो समयमै कतिपय स्थानमा ठूलो पानी परेको छ। धादिङको गजुरीमा पछिल्लो एक घण्टामै १९.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने लमजुङको भुजुङमा १६ र भोर्लेटारमा १४.४ मिलिमिटर वर्षा भएको छ।
बर्दिया र कैलालीमा भारी वर्षा गएको २४ घण्टामा देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र केही ठाउँमा धेरै भारी वर्षा मापन गरिएको छ। तथ्याङ्क अनुसार सबैभन्दा धेरै बर्दियाको मानपुरमा १३६.६ मिलिमिटर र तारातालमा १२८.८ मिलिमिटर वर्षा भएको छ। यस्तै, कैलालीको बलियामा १२१ मिलिमिटर, बाँकेको बेलभरमा १०४.८ मिलिमिटर र कास्कीको यांगिकोटमा ८०.६ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो र राति देशभर पूर्णतया बादल लाग्नेछ। देशका हिमाली, पहाडी र तराई तिनै भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यो क्रम राति पनि जारी रहनेछ। रातिको समयमा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी इलाकामा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।