सोमबार, १५ भदौ २०८३
आइतबार, १७ साउन २०८३ · समसामयिक
काठमाडौं, साउन १७ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५, गोठाटारस्थित पहेँलो पुल नजिकै शनिबार राति भीषण आगलागी भएको छ। आगलागीबाट रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामसहित विभिन्न व्यवसाय सञ्चालनमा रहेका १४ वटा सटरमा ठूलो क्षति पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, स्थानीय रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाममा शनिबार राति करिब ९:१५ बजे विद्युत् सर्ट भई आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोदामबाट सुरु भएको आगो द्रुत गतिमा फैलिएर सँगै जोडिएका अन्य व्यावसायिक सटरहरूलाई समेत आफ्नो चपेटामा लिएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्कालै ठूलो संख्यामा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट १०० जना, विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट २५ जना र सशस्त्र प्रहरी बल सिनामंगलबाट ५० जना गरी जम्मा १७५ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
सुरक्षाकर्मी, स्थानीय बासिन्दा, ९ वटा दमकल र ३ वटा पानी ट्याङ्करको संयुक्त तथा निरन्तर प्रयासपछि करिब दुई घण्टापछि राति ११ बजे मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण र यकिन विवरण भने आउन बाँकी छ।