सोमबार, २९ असार २०८३
सोमबार, २९ असार २०८३ · समसामयिक
काठमाडौं, असार २९ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनः प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्किएकी छन् । उनीमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरिएको हो।
नेपाल टेलिकमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विशेष अदालतबाट आरोपबाट पूर्ण रूपमा सफाइ पाएपछि मन्त्रालयको २०८३ असार २६ गतेको निर्णयअनुसार अर्याललाई पुनः प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्काइएको हो । पदबहालीपछि आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कर्मचारीलाई सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैले पनि डराउन नपर्ने बताए । उनले विगतमा कर्मचारीमाथि लागेका आरोप र सिर्जना भएका भ्रम अन्ततः सत्यको विजयसँगै हटेको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थाको नेतृत्व र व्यवस्थापनलाई निरन्तरता दिने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन ।
उनले कम्पनीमा प्रक्रियागत सुधार आवश्यक रहेको औँल्याउँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारवालाको दृष्टिकोणलाई समेत समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन । साथै नेपाल सरकारको नीति, भावना र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ, पारदर्शी र जिम्मेवार ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजार साखलाई अझ सुदृढ बनाइ कम्पनीका सेवालाई थप ग्राहकमैत्री बनाइने बताईन ।
नेपाल टेलिकमले पनि आफ्ना ग्राहक, सरोकारवाला तथा आम नागरिकप्रति गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न तथा कानुनी शासनको मर्यादालाई आत्मसात गर्दै देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सधैं प्रतिबद्ध रहेको जनाएको छ ।