logo-image

बिहिबार, २५ असार २०८३

राहदानी विभाग अगाडि एक पुरुषद्वारा आत्मदाहको प्रयास

बिहिबार, २५ असार २०८३ · समसामयिक

राहदानी विभाग अगाडि एक पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौं, असार २५ ।  काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाहको प्रयास गरेका छन्।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै बिहीबार दिउँसो करिब १ः४५ बजे एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। घाइते हुनेमा मुगुको सोरु गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेको प्रहरीले जनाएको छ। 

पेसाले राइड सेयरिङ (पठाओ) चालक रहेका नेपालीले त्रिपुरेश्वरमा बाइक रोकेका बेला काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ (पाङ्ग्रामा साँचो) गरिदिएका थिए। नगर प्रहरीको उक्त कारबाहीपछि आवेशमा आएका उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्कँदै आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटना लगत्तै विभाग अगाडि तैनाथ प्रहरी टोली र स्थानीयवासीले तत्काल आगो निभाएर उनको उद्धार गरेका थिए। आगोले जलेर घाइते भएका नेपालीलाई तत्कालै उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हाल उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ। महानगरको पार्किङ कारबाही र नगर प्रहरीसँगको विवादकै कारण उनले यो आत्मघाती कदम चालेको देखिए तापनि प्रहरीले घटनाको पृष्ठभूमि र अन्य सम्भावित पक्षबारे थप विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार