logo-image

सोमबार, १५ भदौ २०८३

राजमार्गमा पहिरोको जोखिम: कुन-कुन बाटो खुले, कहाँ छ पूर्ण रोक? (विवरणसहित)

आइतबार, १७ साउन २०८३ · समसामयिक

राजमार्गमा पहिरोको जोखिम: कुन-कुन बाटो खुले, कहाँ छ पूर्ण रोक? (विवरणसहित)

काठमाडौं, साउन १७ । लगातारको अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। 

नेपाल प्रहरीले अद्यावधिक गरेको तथ्याङ्क अनुसार बागमती र कोशी प्रदेशका प्रमुख सडक खण्डहरू अवरुद्ध हुनुका साथै केही स्थानमा रात्रिकालीन यात्रामा समेत रोक लगाइएको छ। विवरण अनुसार सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गका चारकिलो र कोदारी क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प बनेको छ भने इलामस्थित मेची राजमार्ग पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यसै गरी, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी) मा साँझ १४:०० देखि बिहान ०४:०० बजेसम्म र मकवानपुरको कान्ति लोकपथमा साँझ १७:०० देखि बिहान ०५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उता भोजपुरस्थित मध्य पहाडी लोकमार्गमा भने बाढीका कारण प्रभावित सडक अहिले एकतर्फी रूपमा सुचारु गरिएको छ।

मौसम प्रतिकूल रहेकाले प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि अनिवार्य रूपमा सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।