logo-image

बिहिबार, ०३ वैशाख २०८३

करण केसी क्यानको कारबाहीमा: १०० प्रतिशत म्याच शुल्क गुमाए, एक खेल खेल्न नपाउने

आइतबार, २९ चैत २०८२ · खेलकुद

करण केसी क्यानको कारबाहीमा: १०० प्रतिशत म्याच शुल्क गुमाए, एक खेल खेल्न नपाउने


काठमाडौं, चैत्र २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। अम्पायरप्रति सामाजिक सञ्जालमा अमर्यादित र धम्कीपूर्ण अभिव्यक्ति दिएको ठहर गर्दै क्यानले उनीमाथि डण्डा चलाएको हो।

करणले शनिबार फेसबुकमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै धम्कीपूर्ण शैलीको स्टाटस लेखेका थिए। उनले प्रश्न गरेका थिए- "कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ?" यस लगत्तै नेपाल क्रिकेट अम्पायर तथा स्कोरर्स संघ (कुसान) ले आकस्मिक बैठक बसी उक्त अभिव्यक्तिको कडा विरोध जनाएको थियो। कुसानका अध्यक्ष मोहम्मद सफिकले यो गम्भीर विषय भएको र क्षमायाचनाले मात्र नहुने भन्दै कडा कारबाहीको माग गरेका थिए।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, म्याच रेफ्रीको रिपोर्ट र आईसीसीको आचारसंहितालाई आधार मानेर यो निर्णय लिइएको हो। करणले पछि उक्त स्टाटस हटाएर माफी मागे तापनि खेल भावना विपरीतको कार्य भएकाले प्राविधिक समितिको छलफलपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।