मङ्गलबार, २३ असार २०८३
मङ्गलबार, २३ असार २०८३ · समसामयिक
काठमाडौं, असार २३ । ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्मा राजुमान डङ्गोल समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । परिषद्को आगामी असार २७ गते काठमाडौँको नयाँबजारस्थित मल्टी भेन्युमा हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि डङ्गोल समूहले उम्मेदवारी घोषणा गरेको हो ।
ठमेल पर्यटन विकास परिषद्को एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष भएर काम गरेका डङ्गोल इमान्दार र अनुभवी रहेका छन् । ठमेल क्षेत्रलाई नमुना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने मुख्य एजेण्डासहित अगाडि बढेका डङ्गोलले आफ्नो समूहको प्रथम उपाध्यक्षमा हालका उपाध्यक्ष राजीव पाण्डेलाई अगाडि सारेका छन् ।
यस्तै, द्वितीय उपाध्यक्षमा दावा तामाङ, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी (दिपक), महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल र कोषाध्यक्षमा किन्चुल्हामु भुटिया श्रेष्ठले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
महासचिवका उम्मेदवार कँडेल काठमाडौँ आगन्तुक होटल तथा अतिथी होटल तथा अर्पाटमेन्टका सञ्चालक हुनुहुन्छ । कोषाध्यक्षका उम्मेदवार किन्चुल्हामु भुटिया श्रेष्ठ भने अन्तर्राष्ट्रिय एयरलाइन्सको एयर होस्टेज भएकी युवा नेत्री हुन । उनले ठमेल सञ्चयकोष भवनमा पश्चिमा व्यवसाय तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी छन् । यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, सानुकाजी महर्जन, बालकृष्ण खनाल, रोशन प्रधान श्रेष्ठ, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्ण बहादुर सेढाई र चन्द्रा तामाङ उम्मेदवार हुुन । डङ्गोलले ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन आफ्नो कार्ययोजना अगाडि बढाएका छन् ।
उनले ठमेललाई २४ सै घण्टा सुरक्षित पर्यटन क्षेत्र बनाउन प्रभावकारी समन्वय गर्ने र सरसफाइ तथा सौन्दर्यीकरणमा विशेष जोड दिने, ठमेलको डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, कर, नीति र व्यवसायिक समस्या समाधानका लागि सरकारका तीनै तहसँग समन्वय गर्ने, ठमेललाई सांस्कृतिक पर्यटन केन्द्र’ को रूपमा विकास गरी नेवारी कला र संस्कृतिको प्रवद्र्धन गर्ने बताए । यसैगरी, पर्यटकका लागि डिजिटल नक्सा, होटल र रेस्टुरेन्टको जानकारी उपलब्ध हुने प्रणाली विकास गर्ने, ‘हरित ठमेल’ अभियानमार्फत वातावरण संरक्षण र प्लास्टिक न्यूनीकरण गर्ने, परिषद्का सम्पूर्ण आर्थिक गतिविधि पारदर्शी बनाउने र उत्तरदायी नेतृत्व प्रदान गर्ने बताएका छन् ।
“मेरो नेतृत्वमा परिषद् केवल एउटा संस्था मात्र नभई सम्पूर्ण व्यवसायी र घरधनीहरूको साझा परिवार हुनेछ, हामी सामूहिक छलफल र सहकार्यका आधारमा ठमेलको प्रतिष्ठालाई नयाँ उचाइमा पु¥याउनेछौँ,”– अध्यक्षका उम्मेदवार डङ्गोलले भने । ठमेलका व्यवसायी र घरधनीहरूबीच डङ्गोलको उम्मेदवारीलाई अनुभवी नेतृत्वको रूपमा हेरिएको छ ।
