logo-image

शुक्रबार, ०८ जेठ २०८३

नेपालको ऐतिहासिक कीर्तिमान: अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य, ईशान र दीपेन्द्र चम्किए

शुक्रबार, ०८ जेठ २०८३ · खेलकुद

नेपालको ऐतिहासिक कीर्तिमान: अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य, ईशान र दीपेन्द्र चम्किए

काठमाडौं, जेठ ८ । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै जितका लागि ३ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १७ रनको विशाल योगफल तयार पार्यो।

नेपालले त्रिवि (टीयू) क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेलमा बनाएको यो नै अहिलेसम्मकै सर्वाधिक ठूलो योगफल हो। यसअघि नेपालले सन् २०२३ मा घरेलु मैदानमा ओमान र यूएईविरुद्ध समान ३ सय १० रन बनाएको थियो, जुन कीर्तिपुर मैदानमा नेपालको उच्च स्कोर थियो। समग्र ओडीआई इतिहासमा भने नेपालको उच्च स्कोर ३ सय २१ रन (स्कटल्यान्डविरुद्ध) रहेको छ।

ईशानको सानदार पुनरागमन, दीपेन्द्रको विष्फोटक ब्याटिङ

नेपाली टोलीका लागि ओडीआईमा सानदार पुनरागमन गरिरहेका मध्यक्रमका ब्याटर डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ्स खेले। उनले मात्र ८३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै नेपाली इनिङ्सलाई मजबुत बनाएका थिए। उनी शुभम रञ्जनेको बलमा सेहान जयासुरियाद्वारा क्याच आउट हुन पुगे।

नेपाललाई यो विशाल योगफलसम्म पुर्‍याउन मध्यक्रमका आक्रामक ब्याटर दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे। दीपेन्द्रले मात्र ३६ बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतले ५९ रनको महत्त्वपूर्ण योगदान दिए।

टोखेलको सुरुवातमा ओपनर आसिफ शेखले ४३ रन र कुशल भुर्तेलले २९ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। यस्तै कप्तान रोहित पौडेलले ४६ रन र गुलशन झाले १५ रन जोड्दै टोलीलाई थप मजबुत स्थितिमा पुर्‍याए।

बलिङतर्फ अमेरिकाका शुभम रञ्जनेले सर्वाधिक ३ विकेट लिए। पहिलो इनिङ्सको समाप्तिसँगै विशाल स्कोर खडा गरेको नेपाल खेलमा निकै बलियो स्थितिमा देखिएको छ र अहिले अमेरिकाले जवाफी ब्याटिङको तयारी गरिरहेको छ।