logo-image

आइतबार, १४ भदौ २०८३

क्रिकेटर सन्दीप लामिछानेकाे तलबदेखि हरेक विकेट, हरेक चौका–छक्का बाढीपीडितलाई, बालबालिकाका लागि विशेष सहयोग

आइतबार, १४ भदौ २०८३ · खेलकुद

क्रिकेटर सन्दीप लामिछानेकाे तलबदेखि हरेक विकेट, हरेक चौका–छक्का बाढीपीडितलाई, बालबालिकाका लागि विशेष सहयोग

 

काठमाडौं, भदौ १४ ।  एसीसी प्रिमियर कपका लागि नेपाली टोलीसँगै मलेसिया पुगेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढी प्रभावित नेपालीका लागि सहयोग घोषणा गरेका छन्।

लामिछानेले नेपाल क्रिकेट संघबाट प्राप्त आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्।

त्यसैगरी, एसीसी प्रिमियर कपको अवधिभर नेपालले लिने प्रत्येक विकेटमा रु. १,५०० तथा नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्कामा पनि रु. १,५०० सहयोग गर्ने उनले बताएका छन्।

उनका अनुसार यसरी प्रदान गरिने रकम बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ। बाढीका कारण बालबालिकाको शिक्षा र भविष्य प्रभावित हुन नहुने भन्दै उनले सहयोगलाई उनीहरूको शिक्षासँग जोडिएको बताएका छन्।

मलेसियामा रहे पनि देशमा भइरहेको कठिन परिस्थितिप्रति आफूहरूको ध्यान रहेको उल्लेख गर्दै लामिछानेले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालमा रहेका समर्थकको मुहारमा केही खुसी ल्याउने प्रयास गर्ने बताएका छन्।

“हरेक विकेट, हरेक बाउन्ड्री र हरेक उत्साह नेपालका लागि हो,” भन्ने भावनासहित उनले राष्ट्रिय टोलीको प्रदर्शनलाई देश र देशवासीप्रति समर्पित गर्ने बताएका छन्।

लामिछानेले आफूहरू घरबाट टाढा रहे पनि नेपाल सधैं आफ्नो हृदयमा रहेको उल्लेख गर्दै टोलीलाई नेपालका लागि खेल्ने र देशमा खुसी ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

ताजा समाचार