मङ्गलबार, १६ भदौ २०८३
मङ्गलबार, १६ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ १६ । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ वटा भन्दा बढी पुल बगाएको छ । रसुवा, नुवाकोट र धादिङका पक्की, बेलव्रिज तथा झोलुङ्गे पुल बगाएको हो । बाढीले केही पुल पूरै बगाएको छ भने केहिमा आंशिक क्षति पु¥याएको छ । तर त्रिशूली नदीमा भीषण बाढी आउँदा पनि धादिङको गल्छीमा रहेको एउटा पुल भने जोगिएको छ । अधिकांश पुलमा क्षति हुँदा धादिङस्थित महेशदोभानमा त्रिशूली नदीमाथी निर्माणधिन पुल जोगिएको हो । धादिङवेशी जोड्ने फुर्केखोला पुल समेत बाढीले लैजाँदा गल्छीको पुल कसरी जोगियो त ? सडक विभागका महानिर्देशक डा विजय जैसीकाअनुसार नदीको भौगोलिक बनोट, पुलको स्पान र पुलको जग चट्टानभित्र गहिरोसम्म पु¥याएर निर्माण गरेको कारण जोगिएको देखिन्छ । बाढीको तिब्र बहाव महानिर्देशक डा. जैसीलाई पनि उक्त पुल जोगिन्छ भन्ने लागेको थिएन । तर बाढीको बहाव यस क्षेत्रमा आइपुग्दा केही कमजोर भएको र पुल रहेको स्थानमा नदीको बहाव फैलिन सक्ने पर्याप्त ठाउँ भएकाले बाढीको प्रत्यक्ष दबाब कम हुन पुग्यो । सोही कारण पुलका संरचनात्मक भागमा ठूलो क्षति हुन नपाएको उहाँले बताउनु भयो । चट्टानी भू–बनावट र नदीको फराकिलो क्षेत्रले पनि पुललाई बाढीको अत्याधिक वेगबाट जोगाउन सहयोग गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘यस पुललाई हेर्दाखेरि कस्तो देखियो भने, बाढी यहाँसम्म आइपुग्दासम्म माथिदेखिको डिस्चार्ज र स्पिड, त्यसको भेलोसिटी अलि मरिसकेको अवस्था थियो । अनि यो गल्छीमा पनि अलिकति फिजिन ठाउँ धेरै छ । फिजिन ठाउँ धेरै भएको र भाग्यवश हाम्रो यो बीचको स्पान पनि लामो परेको थियो । हुन त यस्तै स्पान भएको अगाडिको एउटा पुल पनि भेलले लिएर गयो । त्यही संरचनाको थियो, तुप्चे भन्ने ठाउँमा अलि माथि थियो । तर यो ठाउँ चाहीँ अलि फराकिलो पनि भयो । अनि यहाँ रकको स्ट्राटा छ । यो पुललाई त्यही रकभित्र करिव १०–१५ मिटरजति भित्र पठाइएको थियो । त्यो रकलाई भेलले काट्न सकेन, अनि यता फिजिन ठाउँ पनि पाएर, भाग्यवश यो पुल बच्न गयो । अहिले हामीलाई ठूलो राहत महशुस भएको छ ।’
तर यही प्रकृतिको संरचना रहेको त्रिशूलीकै तुप्चे क्षेत्रमा रहेको अर्को पुल भने बाढीले बगाएको उहाँले बताउनु भयो । महानिर्देशक जैसीकाअनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा निकै ठूलो थियो । टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिव १०० मिटरसम्म माथि पुगेको आकलन गरिएको उहाँले बताउनु भयो । यस्तो असाधारण बाढीमा सामान्य डिजाइन मापदण्डअनुसार निर्माण भएका संरचना जोगिन कठिन हुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘यो हाम्रो लागि नसोचेको, महाप्रलयजस्तो अवस्था भयो । हामीले सामान्यतः हाइड्रोलोजिकल प्यारामिटर र म्यानुअलका आधारमा पुल डिजाइन गर्छौं । हामीले बगेको पानीको डिस्चार्ज कति आउँछ र फ्रि बोर्ड कति राख्ने भन्ने नियम अनुसार नर्मल्ली पुल डिजाइन गथ्र्यौँ । हामीलाई टिमुरे र माथि रसुवागढीमा १०० मिटरमाथिसम्म छाल पुगेको भन्ने आकलन थियो । भनेपछि कुनैपनि पुल रहने कुनै सम्भावना नै थिएन, भाग्यवश हाम्रा त्रिशुलीमा केही पुलहरू जोगिएका छन् । त्योमध्ये यता स्याप्रुबेसी पट्टि भएको त्रिशूलीको पहिलो बचेको पुल हो, यो । हामीलाई पनि एकदम अचम्म लाग्यो, यो पुलै बच्ला भनेर हामीले एक्स्पेक्ट गरेका थिएनौँ ।’
अब पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन
रसुवा बाढीले पुलमा ठूलो क्षति पु¥याएपछि सडक विभाग पुल निर्माणसम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ । बाढीका कारण क्षति पुगेका सडक तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डा जैसीले पुलको डिजाइन परम्परागत ढंगले अब गर्न नहुने बताउनुहुन्छ । यसपटकको बाढीले नेपालमा पुल निर्माणसम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उहाँले बताउनु भयो । जलवायु परिवर्तनका कारण भविष्यमा विपद् थप बढ्न सक्ने भएकोले अब पुल निर्माणसम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएको उहाँको भनाई छ । उहाँकाअनुसार अब नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्नेछ । पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्नेगरी मापदण्ड बनाउनुपर्ने उहाँले बताउनु भयो । रणनीतिक र ‘लाइफलाइन’ पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा विभागले छलफल अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले चाहिँ नर्मल हाइड्रोलोजिकल म्यानुअल गाइडलाइनअनुसार पुल डिजाइन गरेका थियौँ । त्यसअनुसार १०० वर्षको रिटर्न पिरियड निकाल्ने, पानी बग्ने र आवश्यक फ्रिबोर्ड राख्ने हिसाबले डिजाइन गरिएको थियो । तर अब क्लाइमेट चेन्जलगायत विभिन्न असरहरूलाई हेर्दा नेपालजस्तो देशले आफ्नै गाइडलाइन र आवश्यक प्यारामिटरहरू विकास गर्ने बेला भयो भन्ने लाग्छ । हाम्रा धेरैजसो नदीहरू हिमाल र हिमनदीबाट आउने हुन् । मुस्ताङतिर हेर्नुभयो भने पनि त्यस्तै अवस्था छ, माथि हिमनदीहरू छन् । त्यसैले अब हामीले एकदमै क्लाइमेट–रेजिलेन्स खालका, लामा स्पानका पुलहरू निर्माण गर्नुपर्छ । त्यसका लागि हामी कोडहरू रिभाइज गर्छौँ र हाम्रो सामान्य ट्रेण्ड नै परिवर्तन गर्छौँ । सकेसम्म बीचमा पिलर नराख्ने, लामा स्पान भएका र अग्ला पुलहरू बनाउनेतर्फ जानुपर्छ । अर्को कुरा, रणनीतिक लोकेसन हेरेर कुनै–कुनै पुल लाइफलाइन पुल हुन्छन् । त्यस्ता पुलहरूलाई विशेष ‘ए ग्रेड’ महत्वपुर्ण पुलका रूपमा छुट्याएर विशेष स्रोतबाट निर्माण गर्ने, अझ बलियो र लामा बनाउने भन्ने विषयमा अब विभागले जानुपर्छ कि भनेर हामी अहिले एकदमै गम्भीर रूपमा मन्थन गरिरहेका छौँ ।’
हाल नेपालमा हाइड्रोलोजिकल मापदण्डअनुसार सामान्यतः १०० वर्षको ‘रिटर्न पिरियड’ लाई आधार मानेर पुलको डिजाइन तथा पानीको बहाव र ‘फ्री बोर्ड’ निर्धारण गर्ने गरिएको छ । तर जलवायु परिवर्तनका कारण नदीमा आउने बाढीको प्रकृति र तीव्रता परिवर्तन भइरहेकाले पुराना मापदण्ड मात्र पर्याप्त नहुने महानिर्देशक डा. जैसीले बताउनु भयो । –न्युज एजेन्सी नेपाल