सोमबार, २९ असार २०८३
सोमबार, २९ असार २०८३ · समसामयिक
काठमाडौं, असार २९ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् । गृह मन्त्रालयको विपद् पोर्टलकाअनुसार पछिल्लो एक हप्ता (असार २२ देखि २९ गते) भित्र मात्रै देशका ५६ स्थानमा बाढी, भारी वर्षा र सडक अवरोधका कारण उच्च शतर्कता अपनाउन भनिएको छ । सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो राजमार्ग ठप्प भएका छन् । असार २९ गते बिहान ६ः३० बजेसम्मको तथ्यांकअनुसार अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका मुख्य खण्डहरू पूर्ण रूपमा बन्द छन् ।
वागमती र लुम्बिनी प्रदेशमा धेरै अवरोध
विपद् व्यवस्थापन शाखाकाअनुसार वागमती प्रदेशको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीमा असार २९ गते गएको पहिरोका कारण अरनीको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । यस्तै, कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ भ्यारडेडाँडामा असार २७ गतेदेखि नै पहिरो जाँदा ललितपुर–हेटौँडा जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध छ ।
काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशमा पनि सडकको अवस्था उस्तै छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेमा असार २९ गते पहिरो जाँदा मदन भण्डारी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसअघि असार २८ गते रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङमा पहिरो जाँदा घोरही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्णरूपमा बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।
कोशी र गण्डकीमा पनि उस्तै
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन चलाइएको छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा असार १२ गते गएको बाढीका कारण बाटो एकतर्फी मात्र खुला गरिएको छ । उता गण्डकी प्रदेशको कास्की मादी गाउँपालिका–२ ज्याम्दुमा असार २७ गते गएको पहिरोका कारण पोखरा–ताङतिङ सडक खण्ड अहिलेसम्म पूर्ण रूपमा बन्द रहेको स्थानीय प्रशासनले जनाएको छ ।
५६ स्थानमा शतर्कता चेतावनी
गृह मन्त्रालयको रियलटाइम मोडुलमा आधारित विपद् पोर्टलकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै सुदूरपश्चिमको कैलालीदेखि पूर्वको सुनसरीसम्म बाढी र सडक अवरोधका नयाँ घटना दर्ता भएका छन् ।
असार २९ गते बिहान ३ः५० बजे कैलालीको कैलारी गाउँपालिका–५ मा बाढी आएको छ । यसैगरी असार २८ गते राति सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा भारी वर्षा भएको थियो भने रुपन्देहीको सैनामैना–१० मा असार २८ गते साँझदेखि सडक बन्द छ ।
पर्वतको जलजला गाउँपालिका–३ मा पनि असार २८ गते दिउँसो र राति गरी दुई पटक बाढी आएपछि त्यस क्षेत्रमा सचेत रहन आग्रह गरिएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मा पनि असार २८ गते बिहानदेखि सडक अवरुद्ध छ ।
प्रहरी तथा स्थानीय प्रशासनले आवश्यक कामबाहेक पहिरो जाने र नदी तटीय क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेका छन् । अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण काममा बाधा पुगिरहेको सडक विभागका अधिकारीहरूले बताएका छन् । –न्युज एजेन्सी नेपाल
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
२ घण्टा अगाडि
अमेरिकी सेनाद्वारा इरानमाथि थप हवाई आक्रमण
३ घण्टा अगाडि
३ घण्टा अगाडि