बिहिबार, ३२ असार २०८३
शुक्रबार, २६ असार २०८३ · समसामयिक
काठमाडौं, असार २६। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ ।
गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल भर्ना गरिएका नेपालीको भेन्टिलेटरमा उपचार भइरहेका बेला शुक्रबार बिहान ११:२० बजे मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका नेपालीले बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका थिए ।
आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो । अस्पतालका अनुसार उनको शरीरको करिब ५५ देखि ६० प्रतिशत भाग जलेको थियो । अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी उनलाई बर्न आईसीयूको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
गृह मन्त्रालयमा आकस्मिक छलफल
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेपालीको मृत्युको खबरलगत्तै मन्त्रीसहितको टोली आन्तरिक छलफलमा जुटेको हो ।
सचिवालयका अनुसार गृहमन्त्री केही बेरमै वस्तुस्थिति बुझ्न र मृतकका परिवारलाई भेट्न वीर अस्पताल पुग्दैछन् ।