logo-image

बिहिबार, ३२ असार २०८३

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत लैजाने योजना स्थगित, वीर अस्पतालमै उपचार जारी

शुक्रबार, २६ असार २०८३ · समसामयिक

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत लैजाने योजना स्थगित, वीर अस्पतालमै उपचार जारी

काठमाडौं, असार २६ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत नलैजाने निर्णय गरिएको छ। वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक र अस्थिर रहेकाले अहिले स्थानान्तरण गर्दा ज्यानको जोखिम बढ्न सक्ने चिकित्सकहरूको सुझावपछि सरकारले भारत लैजाने योजना हाललाई स्थगित गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल पठाइनेछ। त्यसका लागि एयर एम्बुलेन्ससहित आवश्यक सम्पूर्ण तयारी भने सरकारले तयारी अवस्थामा राखेको छ।

यसअघि सरकारले चिकित्सकहरूको प्रारम्भिक सिफारिसका आधारमा नेपालीलाई नयाँ दिल्ली लैजाने निर्णय गर्दै एयर एम्बुलेन्सको व्यवस्था, कूटनीतिक समन्वय तथा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको थियो। विमानस्थलसम्म बिरामीलाई सुरक्षित र छिटो पुर्‍याउन आवश्यक सुरक्षा तथा ट्राफिक व्यवस्थापनको तयारीसमेत गरिएको थियो।

नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्था स्थिर बनाउन विशेष औषधि तथा सघन उपचार भइरहेको छ। हाल उनको जीवन रक्षाका लागि वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक प्रा. डा. पियुष दाहालको नेतृत्वमा चिकित्सक, एनेस्थेसिया तथा क्रिटिकल केयर विशेषज्ञ र नर्सिङ स्वास्थ्यकर्मीसहित २१ सदस्यीय टोली चौबीसै घण्टा उपचारमा खटिएको छ।

गणेश नेपाली बिहीबार वैदेशिक रोजगारीका लागि दुबई जान राहदानी बनाउन त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनले पार्किङ विवादपछि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्की आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल वीर अस्पताल पुर्‍याइएको थियो।

सरकारले उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ भने चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएको निष्कर्ष दिएलगत्तै थप उपचारका लागि भारत पठाइने जनाइएको छ।

ताजा समाचार