logo-image

सोमबार, १९ असोज २०८३

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

सोमबार, १९ असोज २०८३ · समसामयिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

काठमाडौं, असोज १९ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । साहित्य तथा संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उनलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको हो ।

भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा अन्य प्रतिष्ठित अतिथिले डा. उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए । 

कार्यक्रमको प्रमुख अतिथिमा राजस्थानका उप–मुख्यमन्त्री डा. प्रेम चन्द बैरवा रहेका थिए भने विशिष्ट अतिथिमा राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, राजस्थान विधानसभाका पूर्व सदस्य अशोक परनामी, राजस्थान विधानसभाका सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री श्रीमती एकता अग्रवाल, एक्सक्लुसिभ वल्र्ड रेकड्र्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान, पद्मश्री पुरस्कार विजेता, वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. एम. वली लगायतका रहेका थिए ।

विश्वविद्यालयले जारी गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा साहित्य र संगीत क्षेत्रमा उनको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पारेको प्रभावको प्रशंसा गरिएको छ । समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा समेत उनलाई साहित्य तथा संगीत क्षेत्रमा उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ । यो सम्मानले नेपाली साहित्य तथा संगीत क्षेत्रमा डा. उपाध्यायले पु¥याएको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा समेत सम्मान मिलेको जनाइएको छ ।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरिसकेका छन् । आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उहाँको दशौं मानार्थ विद्यावारिधि हो । यसअघि अमेरिका लगायत विभिन्न देशका विश्वविद्यालयबाट उनलाई नौवटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरेको जनाइएको छ । उनका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन् । उनका करिब दुई सय ५० गीत सार्वजनिक भएका छन् भने सयौं गीतका भिडियोसमेत निर्माण भएका छन् । डा. उपाध्यायको पछिल्लो उपन्यास ‘आशक्ति’ तथा कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ भने हालै दुई भजन ‘श्रीराम’ र ‘हरे कृष्ण’ श्रोता/दर्शकमाझ आएका छन् ।