आइतबार, २८ असार २०८३
आइतबार, २८ असार २०८३ · समसामयिक
काठमाडौं, असार २८ । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। मंगलबार काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेको हो।
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा ४ सेन्टिमिटरको ट्युमर फेला परेको थियो।
आकारका हिसाबले निकै गम्भीर मानिएको उक्त ट्युमरले मस्तिष्कको संवेदनशील भागमा दबाब दिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा उनको तत्काल सफल शल्यक्रिया गरिएको हो। अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएपछि दीपाश्रीलाई आइसियूबाट जनरल वार्डमा सारिएको छ र उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख छ।
हाल निकालिएको ट्युमरको प्रकृति (बेनाइन वा म्यालिग्नेन्ट) पत्ता लगाउन नमूना परीक्षण (बायोप्सी) का लागि पठाइएको छ, जसको रिपोर्ट आएपछि मात्र थप उपचारको विधि तय हुनेछ। यसैबीच, उनका शुभचिन्तक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।