बिहिबार, २५ असार २०८३
बिहिबार, २५ असार २०८३ · समसामयिक
काठमाडौं, असार २५ । काठमाडौँको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठलाई आज म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको छ। पक्राउ परेका तीनै जनालाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा राखिएको थियो।
बाल संगठन (बालमन्दिर) को स्वामित्वमा रहेको बहुमूल्य जग्गालाई संगठनका पूर्वपदाधिकारीहरूले आपसी मिलेमतोमा लामो समयका लागि अत्यन्तै सस्तो मूल्यमा भाडामा लगाएर संस्थालाई ठुलो आर्थिक नोक्सानी पुर्याएको आरोप उनीहरूमाथि छ। यस प्रकरणमा यसअघि पनि पूर्व पदाधिकारीसहितका व्यक्तिहरूमाथि अनुसन्धान भइसकेको छ।
बालमन्दिरको बहुमूल्य जग्गा सस्तो मूल्यमा दीर्घकालीन रूपमा भाडामा दिएर अनियमितता गरेको घटनामा सीआईबीले आफ्नो अनुसन्धान तीव्र पारेको छ।