logo-image

आइतबार, १७ जेठ २०८३

एसियन गेम्स छनोट: चीनलाई ९२ रनमा रोक्दै नेपालको कीर्तिमानी जित

आइतबार, १७ जेठ २०८३ · खेलकुद

एसियन गेम्स छनोट: चीनलाई ९२ रनमा रोक्दै नेपालको कीर्तिमानी जित

काठमाडौं, जेठ १७ ।  सिङ्गापुरमा जारी एसियन गेम्स छनोट अन्तर्गतको खेलमा नेपालले चीनमाथि २२१ रनको फराकिलो र कीर्तिमानी जित दर्ता गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर खडा गरेको थियो, जुन टी–२० अन्तर्राष्ट्रिय इतिहासकै तेस्रो ठूलो योगफल हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४५ बलमा १६ छक्का र ५ चौका प्रहार गर्दै १२९ रनको ऐतिहासिक पारी खेले; यसै क्रममा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै उनी विश्वकै तेस्रो खेलाडी बन्नुका साथै नेपालका लागि टी–२० मा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन्।

उनीबाहेक कुशल मल्लले अविजित ८५ रन र कप्तान रोहित पौडेलले मात्र २१ बलमा ६९ रनको विस्फोटक योगदान दिएका थिए। जवाफी ब्याटिङमा उत्रिएको चीन ३१४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन र १९.२ ओभरमा ९२ रनमै अलआउट भयो; चीनका लागि सेन्जियान जिङले सर्वाधिक ३१ रन बनाए भने नेपालका तर्फबाट कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएपछि विश्व वरीयतामा १७ औँ स्थानमा रहेको नेपालले ८९ औँ स्थानको चीनमाथि सहज जित निकाल्न सफल भयो।