आइतबार, २८ असार २०८३
आइतबार, २८ असार २०८३ · खेलकुद
काठमाडौं, असार २८ । अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको हाे।
खेलको १०औं मिनेटमा लियोनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसअघि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले ब्रिल एम्बोलोको 'वान-अन-वान' अवसर विफल पार्दै टोलीको संकट टारे पनि ६७औं मिनेटमा स्विट्जरल्यान्डका डान एनडोयेले खेल १–१ को बराबरीमा ल्याए।
तर, ७२औं मिनेटमा तिनै स्ट्राइकर एम्बोलो दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटियो। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा जुलियन अल्भारेजले आकर्षक घुमाउरो प्रहारमार्फत र इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
योसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ र प्रशिक्षक लियोनल स्कालोनीको टोलीले अब बुधबार एटलान्टा स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ।