logo-image

बिहिबार, ०३ वैशाख २०८३

एन्फा निर्वाचन नजिकिँदै गर्दा खेलाडीले लगाए ताला

सोमबार, २५ फागुन २०८२ · खेलकुद

एन्फा निर्वाचन नजिकिँदै गर्दा खेलाडीले लगाए ताला

आगामी चैत १३ गते निर्वाचन घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) मा नेपाल फुटबल खेलाडी संघले आइतबार ताला लगाएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा खेलाडीहरूले तीन बुँदे माग राख्दै ताला लगाएका हुन् । एन्फा निर्वाचन समितिले आगामी चैत १३ गते झापामा निर्वाचन हुने घोषणा गरिसकेको छ । उक्त निर्वाचनमा मातदान गर्ने ८७ जनामध्ये एक नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा पनि हुन् । लामाकै नेतृत्वमा लामो समयदेखि शीर्ष डिभिजन लिग आयोजना गर्न भन्दै आन्दोलनसमेत हुँदै आएको छ । आईतवार पनि लामाको नेतृत्वमा तीन दर्जन हाराहारीका खेलाडीको टोली तीन बुँदे माग राख्दै एन्फा मुख्यालयमा ताला लगाएका छन् । छलफलका लागि एन्फा नेतृत्व अनुपस्थित भएपछि खेलाडीले तालाबन्दीको विकल्प रोजेका छन् । 
‘हामी वार्ताका लागि तयार थियौं । प्रत्यक्ष रुपमा आमनेसामने छलफल गरेर समस्याको हल गर्ने हाम्रो योजना थियो । तर उहाँहरु आउनुभएन । पटकपटकका वार्ता र सडक संघर्षका बावजुद हाम्रा मागहरु एन्फाले बेवास्ता गर्दै आएको छ । त्यसैले हामी तालाबन्दीको निर्णयमा पुगेका हौं,’ अध्यक्ष लामाले भने । खेलाडी संघले तीन वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण र ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् । उनीहरूको कुरालाई सम्बोधन गर्न एन्फा नेतृत्व उपस्थित थिएन । लामाले अक्षय कोषबाट नै सावित्रा भण्डारीको उपचारका लागि सहयोग हुनुपर्ने भए पनि एन्फाले नगरेको आरोप लगाए । 
‘गत वर्ष अक्षय कोषमा एकै प्रतियोगिताबाट ६५ लाख रुपैयाँ जम्मा हुनुपर्ने थियो । तर, कोषको अपारदर्शिताका कारण हामीले त्यसबारे जानकारी पाउन सकिरहेका छैनौं,’ लामाले भने, ‘त्यही पैसाबाट हामीले सावित्रा भण्डारीलाई उपचारका लागि १० देखि १५ लाख उपलब्ध गराउन सक्थ्यौं । तर, एन्फा नेतृत्वको लाचारीपनले हामी आफैले कमाएको पैसा उपयोगबाट बञ्चित भइरहेका छौं । सावित्रा जस्ता खेलाडीको उपचारका लागि पनि आम जनतासँग सहयोग माग्न बाध्य भइरहेका छौं ।’ खेलाडीले मुख्यालयभित्र रहेका प्रशिक्षक, कर्मचारीलाई बाहिर पठाउँदै तालाबन्दी गरेका थिए । खेलाडीहरुले सहिद स्मारक ‘ए’ लिग यसै वर्ष हुनुपर्ने अडान लिएका छन् । अहिले राष्ट्रिय लिग भइरहेको छ । जुन राष्ट्रिय लिग चैत २९ गते सम्म चल्नेछ । उनीहरूले शीर्ष डिभिजन लिग पनि गनुपर्ने माग राखेका छन् । —न्युज एजेन्सी नेपाल