बुधबार, ३१ भदौ २०८३
बुधबार, ३१ भदौ २०८३ · मनोरञ्जन
काठमाडौं, भदौ ३१ । नेपाली लघु चलचित्र 'चुम्पा : अ डल अन्डर द बास्केट' दक्षिण कोरियामा आयोजना हुने ३१ औँ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुने भएको छ । चलचित्र बुसानको ’एसियन सर्ट कम्पिटिसन’ अन्तर्गत ’वाइड एङ्गल सेक्सन’मा आधिकारिक रूपमा छनोट भएको हो ।
राजेश प्रसाद खत्रीको लेखन तथा निर्देशन रहेको चलचित्रले नेपालको दुर्गम ग्रामीण क्षेत्रमा अझै कायम रहेको बालविवाह र त्यसले किशोरीको शिक्षा तथा स्वतन्त्रतामाथि पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ ।
चलचित्रकी १४ वर्षीया मुख्य पात्र मुना कक्षा ८ मा अध्ययनरत एक प्रतिभाशाली किशोरी हुन् । उनी आफ्नो पढाइ पूरा गरेर स्वतन्त्र जीवन जिउने सपना देख्छिन् । तर परिवार र समुदायको परम्परागत सोचका कारण उनलाई जबर्जस्ती विवाहका लागि तयार पारिन्छ । विवाहकै दिन उनी आफ्नो शिक्षा जोगाउन शिक्षिकाको घरमा पुगेर सहयोग माग्छिन् । तर गाउँलेहरूले उनलाई त्यहाँबाट निकालेर पुनः विवाहको प्रक्रियामा फर्काउँछन् ।
चलचित्रले बालविवाहसँगै ग्रामीण नेपाली समाजमा महिलामाथि हुने सामाजिक दबाब, शिक्षाको पहुँच र परम्पराका नाममा हुने लैङ्गिक विभेदलाई संवेदनशील तथा प्रतीकात्मक शैलीमा प्रस्तुत गरेको छ । प्राकृतिक प्रकाश, वास्तविक लोकेसन र न्यून उपकरणको प्रयोगमार्फत चलचित्रलाई कच्चा तथा यथार्थपरक बनाइएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा ’चुम्पा’ नामको परम्परागत पुतलीलाई हराएका आवाज र महिला प्रतिरोधको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा कबिता बुढाले मुनाको भूमिका निर्वाह गरेकी छन् भने बिनिता थापा मगर र मीरा खड्का शिक्षिकाको भूमिकामा छन् । दिपेश मल्लले बेहुलाको भूमिका निभाएका छन् । नेपालमा निर्माण भएको २० मिनेट लामो यो चलचित्र खस भाषामा छायांकन गरिएको हो । चलचित्रको छायांकन पश्चिम–उत्तर नेपालको ग्रामीण क्षेत्रमा गरिएको हो ।
चलचित्रका लेखक तथा निर्देशक राजेश प्रसाद खत्री स्वअध्ययनबाट फिल्म निर्माणमा आएका प्राथमिक विद्यालयका शिक्षक हुन् । उनको पहिलो लघु चलचित्र 'अ क्युरियस गर्ल' ले २०१८ मा ’बर्लिनाले इन्टरनेसनल फिल्म फेस्टिभल’ को ’जेनेरेसन केप्लस’ विधामा 'बेस्ट फिल्म'अवार्ड जितेको थियो । उनको दोस्रो चलचित्र ’अ स्केरक्रो’ ले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रिमियर गरेको थियो ।
'चुम्पा : अ डल अन्डर द बास्केट' को निर्माण पिक्चर फ्रेम र फ्लिकर आट्र्स इन्टरटेनमेन्टको सहकार्यमा भएको हो। चलचित्रका निर्माता केदार भुसाल, क्रिएटिभ प्रोड्युसर दिनेश राउत तथा कार्यकारी निर्माता एवं प्रोडक्सन डिजाइनर रामलाल खड्का रहेका छन् । छायांकन शरद महतो, सम्पादन पासाङ दावा शेर्पा तथा किरण श्रेष्ठ, लोकेसन साउन्ड तथा साउन्ड डिजाइन विपिन स्थापित, कलर ग्रेडिङ दिपेश चौधरी र संगीत सरुन मनन्धर तथा सबिन महर्जनको रहेको छ ।
पिक्चर फ्रेम र फ्लिकर आट्र्स इन्टरटेनमेन्ट नेपालका स्वतन्त्र चलचित्र निर्माण कम्पनी हुन्, जसले लघु चलचित्र, कथानक तथा वृत्तचित्रमा केन्द्रित भएर विशिष्ट नेपाली कथाहरू भन्दै आएका छन् । यसअघि यि दुई कम्पनीले निर्माण गरेको चलचित्र ’रिहाना’ ले २०२५ को बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर गरेको थियो ।
बालविवाह, महिला अधिकार, ग्रामीण यथार्थ र शिक्षाको महत्वलाई केन्द्रमा राखेको 'चुम्पा : अ डल अन्डर द बास्केट' ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवको मञ्चबाट नेपाली ग्रामीण समाजका दबिएका आवाजलाई विश्व दर्शकमाझ पु¥याउने अपेक्षा गरिएको छ ।