बुधबार, २४ भदौ २०८३
बुधबार, २४ भदौ २०८३ · मनोरञ्जन
काठमाडौं, भदौ २४ । यही शुक्रवार, भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को अग्रिम टिकट बिक्री सुरू भएको छ । ट्रेलर रिलिजसँगै डिजिटल प्लेटफर्ममा सुनामी ल्याएको यस चलचित्रले अग्रिम टिकट बुकिङमा पनि सुखद सुरुवात गरेको छ । बुधवार बिहानसम्मको तथ्याङ्क अनुसार ‘बेहुली’ले नेपालभरका हलहरूमा १०० भन्दा धेरै शो प्राप्त गरिसकेको छ, जसले बक्स अफिसमा बलियो ओपनिङको सङ्केत दिएको छ ।
दर्शकहरूको उच्च पर्खाइ र उत्साहलाई मध्यनजर गर्दै नेपालका प्रमुख मल्टिप्लेक्स चेनहरूले चलचित्रलाई उल्लेख्य शोहरू उपलब्ध गराएका छन् । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका आफ्ना हलहरूमा बाक्लो शो निकालेको छ भने दोस्रो ठुलो चेन आइएनआई सिनेमाजले पनि दर्शकका लागि पर्याप्त शोहरू खुला गरेको छ । यसका साथै फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायतका देशभरका अन्य सिंगल तथा मल्टिप्लेक्स हलहरूमा पनि चलचित्रले सानदार शो प्राप्त गरेको छ । चलचित्रका वितरक गोविन्द शाहीका अनुसार दर्शकको बढ्दो चाप र उत्साहलाई हेर्दा प्रदर्शन मितिसम्ममा यो शो सङ्ख्या अझै वृद्धि हुँदै जानेछ ।
‘बेहुली’ ले हलहरूमा प्राप्त गरेको यो लोभलाग्दो शो र बुकिङको मुख्य आधार यसको सशक्त ट्रेलरलाई मानिएको छ । आइतबार सार्वजनिक भएको ट्रेलरले जम्मा २४ घण्टाभित्रै युट्युबमा १० लाख (१ मिलियन) भन्दा धेरै भ्युज बटुल्दै नयाँ रेकर्ड कायम गरेको थियो । १८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) कब्जा गरेको यस ट्रेलरले नेपाली दर्शकको बाक्लो उपस्थिति रहेका कुवेत, कतार, साउदी अरब, मलेसिया, युएई, दक्षिण कोरिया, जापान, अस्ट्रेलियादेखि युरोपका रोमानिया र पोर्चुगलसम्मका ट्रेन्डिङ चार्टमा सानदार इन्ट्री मारेर विश्वभर आफ्नो प्रभाव छाडेको थियो ।
ट्रेलरमा प्रस्तुत गरिएको माया, पारिवारिक सम्बन्ध र मित्रताको कलात्मक कथाले दर्शकको मन जितेको छ। विशेष गरी सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको अनस्क्रिन रोमान्टिक केमेस्ट्रीले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । साथै, सुशान्त कार्कीको प्रहरीको दमदार अवतार, लोकप्रिय कमेडियन पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले चलचित्रप्रतिको कौतुहलतालाई शिखरमा पु¥याएको छ ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका चर्चित अनुहारहरूको समेत अभिनय रहेको छ । द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् ।
ट्रेलरले खडा गरेको रेकर्ड र अहिले भइरहेको उत्साहजनक बुकिङले शुक्रबारदेखि हलहरूमा ‘बेहुली’ को जादु चल्ने निश्चित प्रायः देखिएको छ ।