logo-image

आइतबार, २१ भदौ २०८३

चलचित्र ‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, ५ प्रतिशत हिस्सा बाढीपीडितलाई

आइतबार, २१ भदौ २०८३ · मनोरञ्जन

चलचित्र ‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, ५ प्रतिशत हिस्सा बाढीपीडितलाई



काठमाडौं, भदौ २१  । यही भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ’बेहुली’को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ । हलमा रिलिज हुन मात्र पाँच दिन बाँकी रहँदा निर्माण टिमले आइतबार काठमाडौंको जय नेपाल हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रको आधिकारिक ट्रेलर दर्शकमाझ ल्याएको हो । 

भोटेकोसी क्षेत्रमा आएको अनपेक्षित र विनाशकारी बाढीका कारण देशले बेहोर्नु परेको सङ्कट र पीडालाई मध्यनजर गर्दै निर्माण पक्षले यसअघि चलचित्रका सम्पूर्ण प्रचारप्रसारका कार्यक्रमहरू स्थगित गरेको थियो । देशको असहज परिस्थितिलाई आत्मसात् गर्दै रोकिएको प्रचारप्रसारलाई स्थिति केही सहज भएसँगै ट्रेलर सार्वजनिक गरेर पुनः सुरु गरिएको हो । 

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा प्रस्तुत कर्ता अर्जुन पोखरेलले एक परोपकारी घोषणा गरेका छन् । चलचित्रले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी क्षेत्रका बाढी प्रभावितहरूका लागि प्रदान गरिने उनले बताए । सङ्कटको घडीमा चलचित्र उद्योगको तर्फबाट लिइएको यो निर्णयलाई उपस्थित सञ्चारकर्मी र चलचित्रकर्मीहरूले अत्यन्तै सान्दर्भिक र प्रशंसनीय कार्य भन्दै स्वागत गरेका छन् । 

सार्वजनिक गरिएको ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध, र मित्रताका विविध आयामहरूलाई सुन्दर ढङ्गमा समेटिएको छ । विशेष गरी ’कुल ब्वाई’को नामले सामाजिक सञ्जालमा समेत परिचित कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबिचको प्रेमको केमेस्ट्रीलाई ट्रेलरमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, अभिनेता सुशान्त कार्कीलाई प्रहरीको एक सशक्त भूमिकामा देख्न सकिन्छ । लोकप्रिय कमेडियन पदम तामाङको कमेडी र कलाकार सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले ट्रेलरलाई अझ रोचक बनाएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक ट्रेलर निकै सशक्त, कौतुहलतापूर्ण र व्यावसायिक रूपमा बलियो बनेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएको छ ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषको साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ । द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुत कर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह–निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् । यमप्रसाद ओली प्रोडक्सन हेड रहेको सिनेमामा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ । काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् । डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । 

 

ताजा समाचार