logo-image

बुधबार, ३१ भदौ २०८३

नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा छौँः सभामुख अर्याल

बुधबार, ३१ भदौ २०८३ · राजनीति

नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा छौँः सभामुख अर्याल

काठमाडौं, भदौ ३१ ।  सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताउनुभएको छ । 
बुधवार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुभारम्भ कार्यक्रममा उहाँले संघीय संसदलाई प्रविधिमैत्री बनाउँदै नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी थालिएको बताउनुभएको हो । उहाँले आगामी ५०० वर्षपछि समेत नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको बताउनु भयो । संसदका बैठकमा सांसदहरूले व्यक्त गरेका अडियो तथा भिडियो सामग्रीसमेत सुरक्षित अभिलेखका रूपमा राखिने उहाँको भनाई छ । उहाँले संघीय संसदलाई मात्र नभई कार्यपालिका, न्यायपालिका तथा संघ, प्रदेश र स्थानीय सरकारका सेवा प्रवाहलाई समेत नागरिकमुखी र प्रविधिमैत्री बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । नागरिकको राज्य, नेतृत्व, कर्मचारी र सञ्चारमाध्यमप्रतिको विश्वास थप मजबुत बनाउने उद्देश्यसहित डिजिटल रूपान्तरणलाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सयौं वर्ष पछाडि पनि विगतका इतिहासहरु हामी कति यसमा समेट्न सक्छौँ, नेपालको संसदीय इतिहासको हामी पुराना डाटाहरु खोज्दै छौं, ती डाटाहरु भेटेसम्म हामी यसलाई डिजिटलाइज गरेर सबै यसैमा समेट्ने प्रयास गर्ने छौँ । आगामी दिनमा हाम्रा सबै कार्यक्रमहरुलाई यसमा समेटेर राखेर अबको ५ सय वर्ष पछाडि पनि नेपालको इतिहास चाहिँ भेट्न सकियोस्, खोज्न सकियोस् । नेपालको संसदीय इतिहास भनेर एउटा यो दूरगामी पहल एउटा प्रयास हो । यो हाम्रो चाहना होइन, यो हाम्रो आजको आवश्यकता हो ।’
उहाँले हाल सञ्चालनमा ल्याइएको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण चरणमा रहेकोले यसमा त्रुटी वा अपूर्णता हुन सक्ने बताउनु भयो । प्रयोगकर्ताबाट प्राप्त सुझावका आधारमा प्रणालीलाई थप युजर–फ्रेण्डली, छिटो र सहज बनाइने उहाँको भनाई छ । संविधान, कानुन तथा सार्वजनिक गर्न मिल्ने विषयको अध्ययनपछि प्राप्त सामग्रीलाई सार्वजनिक गर्ने व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले प्रणालीलाई अपाङ्गतामैत्री तथा सबै नागरिकको पहुँचमा पुग्ने गरी विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । –