logo-image

शुक्रबार, २६ भदौ २०८३

आक्रामक व्यापारसहित प्रदर्शनमा आयो चलचित्र ‘बेहुली’, हलमा दर्शकको ओइरो

शुक्रबार, २६ भदौ २०८३ · मनोरञ्जन

आक्रामक व्यापारसहित प्रदर्शनमा आयो चलचित्र ‘बेहुली’, हलमा दर्शकको ओइरो


काठमाडौं, भदौ २६ । बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ आज (शुक्रबार) बाट देशभरका सिनेमा घरहरूमा सानदार रूपमा प्रदर्शनमा आएको छ । रिलिजको पहिलो दिन बिहानैदेखि चलचित्रले बक्स अफिसमा आक्रामक व्यापारको सुरुवात गरेको छ । ट्रेलर रिलिजसँगै डिजिटल प्लेटफर्ममा सुनामी ल्याएको यस चलचित्रको अग्रिम टिकट बुकिङमा देखिएको उत्साह आज हलहरूमा सुखद र लोभलाग्दो भीडमा परिणत भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिंगल थिएटरहरूमा दर्शकको उल्लेख्य चाप देखिएको छ ।

हलभित्रको माहोल निकै रोमाञ्चक र उत्साहजनक देखिएको छ । चलचित्र हेरिरहँदा दर्शकहरू कथाको बहावसँगै कतै खुलेर हाँसेका छन् भने कतै भावुक बनेका दृश्यहरू देखिएका छन् । दर्शकको यही अपार माया र उत्साहलाई नजिकबाट नियाल्न र प्रत्यक्ष प्रतिक्रिया लिन चलचित्रका सम्पूर्ण कलाकारहरू यतिबेला विभिन्न हलहरूमा पुगिरहेका छन् । सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका पारस बम ठकुरी, अभिनेत्री दिव्या रायमाझी, प्रहरीको दमदार अवतारमा देखिएका सुशान्त कार्की, लोकप्रिय कमेडियन पदम तामाङ र सन्तोष बानियालगायतका कलाकारहरू हलमा पुग्दा दर्शकले चर्को हुटिङ गर्दै उनीहरूलाई भव्य साथ दिएका छन् । पर्दाका कलाकारलाई आफ्नै अगाडि देख्दा दर्शकको कौतुहलता र खुसी दोब्बर भएको छ भने दर्शकको न्यानो माया पाएर कलाकारहरू पनि निकै उत्साहित बनेका छन् । 
नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाज, आइएनआई सिनेमाज, फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायतका देशभरका हलहरूमा चलचित्रले सयभन्दा बढी शो पाएको थियो । बिहानैदेखि हलहरूमा देखिएको दर्शकको यो बाक्लो उपस्थिति र दर्शकबाट प्राप्त उत्कृष्ट ‘वर्ड अफ माउथ’ लाई हेर्दै चलचित्रका वितरक गोविन्द शाहीले ‘बेहुली’ले अपेक्षाकृत र सानदार व्यापार गर्ने दृढ विश्वास व्यक्त गरेका छन्। उनले दर्शकको निरन्तर बढ्दो चापका कारण आगामी दिनमा चलचित्रको शो सङ्ख्या अझै वृद्धि हुँदै जाने सङ्केत समेत दिएका छन् । 

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस चलचित्रले माया, पारिवारिक सम्बन्ध र मित्रताको कलात्मक कथा प्रस्तुत गरेको छ । द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका चर्चित अनुहारहरूको पनि सशक्त अभिनय रहेको छ । अर्जुन पोखरेल प्रस्तुतकर्ता र प्रताप शमशेर राणा निर्माता रहेको ‘बेहुली’ले पहिलो दिनमै खडा गरेको यो उत्साहजनक माहोलले नेपाली बक्स अफिसमा चलचित्रको जादु लामो समयसम्म चल्ने निश्चित प्रायः देखिएको छ ।