logo-image

शुक्रबार, ०८ जेठ २०८३

विश्वकप लिग-२: सुखद अन्त्यको खोजीमा नेपाल, टस जितेर अमेरिकाद्वारा फिल्डिङ

शुक्रबार, ०८ जेठ २०८३ · खेलकुद

विश्वकप लिग-२: सुखद अन्त्यको खोजीमा नेपाल, टस जितेर अमेरिकाद्वारा फिल्डिङ

काठमाडौं, जेठ ८ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको हो।

अघिल्लो खेलमा कुशल भुर्तेलको उत्कृष्ट शतकको मद्दतले अमेरिकालाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि जित निकाल्दै घरेलु सिरिजको सुखद अन्त्य गर्न चाहन्छ।

कीर्तिपुर मैदानमा अमेरिकासँगका यसअघिका सबै तीन एकदिवसीय खेल जितेको बलियो इतिहास नेपालसँग भए तापनि, स्कटल्यान्डलाई हराएर उच्च मनोबलका साथ मैदान उत्रिएको अमेरिका नेपाललाई कडा चुनौती दिने दाउमा छ, जसले गर्दा लिग-२ को अंक तालिका सुधार्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।

जारी सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसक्दा पहिलो खेलमा अमेरिकालाई ९ विकेटले र तेस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा वर्षा बाधक भएपछि डिएलएस पद्धतिका आधारमा स्कटल्याण्डसँग २ रनले पराजित भएको थियो। 

हाल अमेरिका र स्कटल्याण्ड लिग-२ को अंक तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् भने स्कटल्याण्डविरूद्धको जितसँगै क्यानडा र नामिबियालाई उछिन्दै नेपाल अघिल्लो सातौँ स्थानबाट दुई स्थान माथि उक्लिएर पाँचौँ स्थानमा पुग्न सफल भएको छ।

नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै खेल जित्नुपर्ने दबाब छ भने आफ्नो एकदिवसीय मान्यता जोगाउन प्रतियोगिताको शीर्ष ६ भित्र रहिरहनु अनिवार्य छ।